मगर संघद्वारा संविधान संशोधन गर्न माग

गोरखा, ६ असोज
नेपाल मगर संघले संविधान संशोधनको माग गरेको छ । संघको शुक्रवार गोरखामा भएको नवौं केन्द्रीय समिति बैठकले मगरात स्वायत्त प्रदेशको सुनिश्चितता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र भाषिक समानताको राज्य व्यवस्थाका लागि संविधान संशोधन गर्न माग गर्ने निर्णय गरेको हो ।
मगर भाषालाई राष्ट्रिय भाषासहित सरकारी कामकाजको भाषाका रुपमा स्थापित नगराएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । शनिबार सदरमुकाममा भएको पत्रकार सम्मेलनमा बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले माघे संक्रान्तिका दिन राष्ट्रिय पर्वका रुपमा दिँदै आएको बिदा कटौती गरेको प्रति असन्तुष्ट रहेको बताउनुभयो ।
‘हाम्रा थुप्रै संस्कृतिहरू छन् तर राज्यले समान मान्यता दिएको छैन, त्यही भएर संविधान संशोधन आवश्यक छ,’ उहाँले भन्नुभयो । राज्यले नदिएको समान अधिकार प्राप्त गर्नका लागी संघ निरन्तर लागी रहने उहाँले बताउनुभयो । प्रस्तावित ४ नम्बर प्रदेशको नाम गण्डकी र ६ नम्बर प्रदेशको नाम कर्णाली राखिएकोप्रति असहमति राख्दै ४ नम्बरलाई ‘तमुवान मगरात’ र ६ नम्बरलाई ‘खसान मगरात’ राख्न संघको माग छ ।
त्यस्तै ५ नम्बर प्रदेशको नाम ‘मगरात थरुहट अवध’ राख्नुपर्ने उनीहरूले बताएका छन् । २५ वर्ष मुनिका मगर युवाहरूलाई मदिरा सेवन गर्न रोक लगाउनका लागि सामाजिक सुधारको अभियान सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ । संघको संगठन सुदृढीकरण तथा शुद्धिकरणसहित प्रशिक्षणका लागि ३ महिने अभियान सञ्चालन गर्ने बैठकमा निर्णय भएको छ ।

Advertisment