पानस सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, ६ असोज
पोखरा महानगरपालिका–८, सिर्जनाचोकस्थित पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ, कास्कीका कोषाध्यक्ष कृष्णप्रसाद बरालले पसललाई जस्तै सहकारीलाई पनि महानगरपालिकाले नवीकरण शुल्क लगाएर गाईजात्रा गरेको आरोप लगाउनुभयो ।
गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश सहकारी ऐन जारी भए विद्यमान समस्या समाधान हुने आशा रहेको भन्दै बरालले घरभाडालगायतका कैयन् समस्या सहकारी क्षेत्रले व्यहोर्नु परिरहेको बताउनुभयो । मुनाफा कमाउनु मात्र सहकारीको उद्देश्य नभएको उहाँको भनाइ थियो ।
सो अवसरमा व्यवसायी तिलक तिवारी, सरस्वती आवासीय माविका प्राचार्य दुर्गाबहादुर थापा, शेयर सदस्य डुकप्रसाद काफ्लेले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ठूला ऋणीतर्फ असल ऋणी नेत्रबहादुर खत्री, साना ऋणीतर्फ असल ऋणी राजुप्रसाद बडुवाल, उत्कृष्ट कर्मचारी रति त्रिपाठी, उत्कृष्ट बचतकर्ता कृष्णबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दुर्गाबहादुर थापा र लेखा समिति सदस्य रामबहादुर थापाले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो । साधारणसभाले अध्यक्ष तिलबहादुर गुरुङद्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष इन्द्रमान चौहानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक अर्जुन दाहालद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । सहकारीको कुल शेयर पूँजी २ करोड ३३ लाख ४३ हजार ३ सय १८ रुपैयाँ, कुल निक्षेप ४ करोड ४ लाख ७ सय ९४ र कर्जा लगानी ५ करोड ६३ लाख ७२ हजार ४ सय ११ रुपैयाँ रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Advertisment