नेकपाले प्रदेश इञ्चार्ज र अध्यक्ष तोक्यो

काठमाडौं, ५ असोज
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इञ्चार्ज र सह–इञ्चार्ज तोकेको छ । शुक्रबार बिहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रका आधारमा भागबण्डा मिलाएर इञ्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा इञ्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छ । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इञ्चार्जको जिम्मेवारी पाउँदा अरु प्रदेशमा सरकारमा नरहेका नेताहरू आएका छन् ।
जस अन्तर्गत प्रदेश नं. १ को इञ्चार्जमा भीम आचार्य, सह–इञ्चार्जमा सावित्रीकुमार काफ्ले, अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशबहादुर राई, प्रदेश नं. २ को इञ्चार्जमा सत्यनारायण मण्डल, सह–इञ्चार्जमा विश्वनाथ साह, अध्यक्षमा प्रभु साह र सचिवमा सुमन प्याकुरेल, प्रदेश नं. ३ को इञ्चार्जमा अष्टलक्ष्मी शाक्य, सह–इञ्चार्जमा हितबहादुर तामाङ, अध्यक्षमा नारायणप्रसाद दाहाल र सचिवमा आनन्दप्रसाद पोखरेल, गण्डकी प्रदेशको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सह–इञ्चार्जमा खगराज अधिकारी, अध्यक्षमा हितराज पाण्डे ‘उत्तम’ र सचिवमा गोविन्दबहादुर नेपाली रहनुभएको छ ।
त्यसैगरी, प्रदेश नं. ५ को इञ्चार्जमा शंकर पोखरेल, सह–इञ्चार्जमा दलबहादुर राना, अध्यक्षमा ओनसरी घर्तीमगर ‘उषा’ र सचिवमा जगप्रसाद शर्मा, कर्णाली प्रदेशको इञ्चार्जमा जनार्दन शर्मा ‘प्रभाकर’, सह–इञ्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा, प्रदेश नं. ७ को इञ्चार्जमा भीमबहादुर रावल, सह–इञ्चार्जमा लक्ष्मणदत्त जोशी, अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा नेपबहादुर चौधरी रहनुभएको छ ।

Advertisment