अमेरिकामा चलचित्र “भेडी गोठाले”लाई पब्लिक च्वाइससहित दुई अवार्ड

न्यूयोर्क, ४ असोज
नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना)को आयोजनामा भएको दोश्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा गुरुङ जातिबाट छनोट भै प्रतिस्पर्धामा उत्रिएको गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र “क्यु प्ह्रो छे”ले दुई वटा अवार्ड जित्न सफल भएको छ ।
मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको चलचित्र “भेडी गोठाले”ले नौ वटा प्रतिस्पर्धी चलचित्रमध्ये सो चलचित्रका नायक राजेश गुरुङले वेष्ट एक्टर अवार्ड र चलचित्रले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको हो ।
अन्तर्राष्ट्रिय क्षेत्रमा चलचित्रले पाएको सफलताले आफूहरु उत्साहित भएको सो चलचित्रका लेखक एवं निर्देशक सुवास गुरुङले बताउनुभयो । भर्खर बामे सर्दै गरेको अवस्थामा पनि आफ्नो निर्देशनमा रहेको चलचित्रले अन्तर्राष्ट्रियस्तरको अवार्ड जित्नुले निकै खुशी लागेको गुरुङले बताउनुभयो ।
चलचित्रका कार्यकारी निर्माता एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ “मिलन”ले आफूले लगानी गरेको चलचित्रले विभिन्न अवार्डहरु जित्दा निकै सन्तुष्टि मिलेको बताउँदै आगामी दिनमा अझै राम्रो चलचित्र निर्माण गर्ने प्रेरणा र हौसला प्राप्त भएको उल्लेख गर्नुभयो । यसैबीच, सो चलचित्रलाई संयुक्त राज्य अमेरिकाकै न्यू ह्याम्पसायरमा विशेष प्रदर्शन गरिएको छ ।

Advertisment