गलकोट समाज पोखराको अध्यक्षमा पुनः खत्री

पोखरा, ३ असोज
गलकोट समाज पोखराको अध्यक्षमा पुनः मीनबहादुर खत्री चयन हुनुभएको छ । खत्री दोस्रो कार्यकालका लागि अध्यक्षमा फेरि सर्वसम्मत चयन हुनुभएको हो ।
समाजको बुधबार सम्पन्न पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा खडकबहादुर थापा, महिला उपाध्यक्षमा राधिका खत्री, सचिवमा पूर्वक खत्री, सह–सचिवमा कृष्णबहादुर खत्री र कोषाध्यक्षमा क्या. पूर्णबहादुर खत्री सर्वसम्मत चयन हुनुभएको छ । समाजका वरिष्ठ सल्लाहकार मोहन चन्द ‘राजन’को संयोजकत्वमा सल्लाहकारद्वय रामप्रसाद पाण्डे र रुपबहादुर थापा सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।
त्यसैगरी, सदस्यहरूमा सु. हरिबहादुर भण्डारी, हर्कबहादुर पाण्डे, क्या. पूर्णबहादुर थापा, गंगा साहनी, भेषबहादुर खत्री, रामबहादुर खड्का, चेतबहादुर भण्डारी, मीना थापा र रेशम निर्दोष रहनुभएको छ ।


यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद् चन्द्रबहादुर बुढा ‘सागर’ले लामो समयपछि देशले बलियो सरकार पाएकोले बिस्तारै जनताका समस्या समाधान हुँदै जाने दाबी गर्नुभयो । देशमा विद्यमान समस्या समाधानका लागि जनप्रतिनिधिहरुले पनि खबरदारी गरिरहेको भन्दै सांसद् बुढाले विदेशमा गएका नेपालीहरुले पठाउने पैसा सही ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । गलकोटेहरु जहाँ रहेपनि गलकोटको विकासका लागि एकजुट भएर लाग्नुपर्ने बताउँदै उहाँले गलकोट र समग्र बागलुङ जिल्लाकै विकासको अगुवाइ गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
गण्डकी प्रदेशकै अर्की सांसद् दिलमाया रोका ‘दीपा’ले गलकोटको विकासका लागि पोखरामा बसोबास गर्ने गलकोटेहरुले पनि विशेष सोंच्नुपर्ने भन्दै जनप्रतिनिधिहरुलाई सहयोग गर्ने र बेला बेलामा खबरदारी पनि गर्न सके विकासको कामले तीव्रता पाउने उल्लेख गर्नुभयो । बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माले बागलुङेहरु जुन क्षेत्रका भएपनि एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै बागलुङ जिल्लाको विकासका लागि बाहिर बसोबास गर्ने बागलुङेहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । सो अवसरमा प्रभु बैंक लिमिटेड, अमरसिंहचोक शाखाका प्रबन्धक चेतनारायण गौतमले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा गलकोट समाज पोखराद्वारा प्रकाशित स्मारिकाको दोस्रो अंकको विमोचन समेत गरिएको थियो । स्मारिकाको समीक्षा गर्दै समीक्षक आनन्दमणि रिजालले स्मारिकाले गलकोटको समग्र विषयलाई समेटेको उल्लेख गर्नुभयो । त्यस्तै, स्मारिकाका प्रधान सम्पादक एवं समाजका वरिष्ठ सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’ले स्मारिकामा लेखकका विचारलाई जस्ताको तस्तै राखिएको र विविध विषयलाई समेट्ने प्रयास गरिएको बताउनुभयो ।


सो अवसरमा दर खाने कार्यक्रमलाई करिब २ लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने समाजका अध्यक्ष मीनबहादुर खत्री र उहाँकी धर्मपत्नी पूर्णकली खत्री, साधारणसभामा प्रायोजन गर्ने प्रभु बैंक लिमिटेड, अमरसिंहचोक शाखा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालले आयोजना गरेको राष्ट्रव्यापी एक लोकगायन प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल लोक तथा दोहोरी गायक रेशम निर्दोषलाई पनि सम्मान गरिएको थियो ।


गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव रुद्रबहादुर श्रीस र उपाध्यक्ष राधिका खत्रीले स्वागत गर्नुभएको थियो ।

Advertisment