पोखरामा वुमन एक्टको दुई दिने समीक्षा कार्यशाला सुरु

पोखरा, १ असोज
वुमन एक्टको आयोजनामा नेपालको संविधानमा महिला समानताबारे दुई दिने समीक्षा कार्यशाला सुरु भएको छ ।
कार्यशालाको उद्घाटन गर्दै पूर्व मन्त्री एवं गण्डकी प्रदेशकी सांसद् आशा कोइरालाले महिला अधिकारबारे संविधानमा उल्लेखित प्रावधानहरू कार्यान्वयन हुनुपर्ने बताउनुभयो । संविधानमा लेखिएका कुरा बाध्यकारी नभएसम्म कार्यान्वयन हुन सक्ने अवस्था नदेखिएको भन्दै सांसद् कोइरालाले कार्यान्वयनका लागि निरन्तर खबरदारी जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्टरनेशनल आइडियाकी एसिया प्रशान्त क्षेत्रकी वरिष्ठ कार्यक्रम अधिकृत अमाण्डा क्याट्स बेरिलले महिला समानताबारे विभिन्न देशका संविधानको समीक्षा गरिँदै आएको बताउनुभयो । नेपालको संविधानमा भएका महिला समानताका प्रावधानको समीक्षा गर्न कार्यक्रमको आयोजना गरिएको बताउँदै अमाण्डाले समीक्षामार्फत् निकालिएका निष्कर्ष सम्बन्धित निकायसम्म पु¥याइने जानकारी पनि दिनुभयो ।
मंगलबार सकिने कार्यशालामा वुमन एक्टकी कार्यकारी अध्यक्ष सिर्जना अधिकारीले नेपालको संविधान २०७२, लैङ्गिक समानतासम्बन्धी बुझाइका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पोखराका विभिन्न अधिकारवादी संघसंस्थाका प्रतिनिधि, कानून व्यवसायी, पत्रकारलगायतको सहभागिता रहेको छ ।

Advertisment