शान्त तमु समाजको एक हप्ते उद्घोषण तालिम सम्पन्न

पोखरा, ३० भदौ

पोखरा महानगरपालिका–१९, लामाचौर, गैरीखोरस्थित शान्त तमु समाजको आयोजनामा एक हप्ते उद्घोषणकला तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
शनिबार सम्पन्न तालिमको समापनका अवसरमा बोल्दै समाजका संस्थापक अध्यक्ष एवं तमु प्ये ल्हु संघका पूर्व केन्द्रीय अध्यक्ष क्या. रुपबहादुर गुरुङले समाजका पदाधिकारी एवं सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । समाजका सल्लाहकार जगनप्रसाद गुरुङले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रुद्रबहादुर श्रीसले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै निरन्तरको अभ्यास र मेहनतले मात्र कुनै पनि कुरामा निपुण बन्न सकिने बताउनुभयो । तालिमकी प्रशिक्षार्थी एवं शान्त तमु समाज, आमा समितिकी अध्यक्ष भद्रकुमारी गुरुङले तालिमले आफूमा आत्मविश्वास बढाएको बताउनुभयो ।
तालिमका प्रशिक्षार्थीहरू प्रेमिना गुरुङ, ज्योति गुरुङ, सोनी गर्बुजा, पूर्णकुमारी गुरुङ, दिपांशु गुरुङले तालिमले आफूहरुमा आत्मविश्वास बढाएको बताउँदै कुनै पनि विषयमा बोल्न र कार्यक्रम सञ्चालन गर्ने उत्साह जागेको उल्लेख गर्नुभएको थियो । यही भदौ १७ गतेदेखि सुरु भएको तालिमको शनिबार समापन गरिएको हो ।
शान्त तमु समाजका अध्यक्ष सु. मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हिमबहादुर गुरुङ र सह–सचिव सरिता गुरुङले गर्नुभएको थियो भने उपाध्यक्ष सु. इन्द्रबहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Advertisment