मगर आदिकवि रेखबहादुरको ७५ औं जन्मजयन्तीमा पूर्व सभासद् थापासहित चार जना सम्मानित हुने

दमौली, २६ भदौ
मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको ७५ औं जन्मजयन्तीका अवसरमा मगर भाषाका अग्रज साहित्यकार एवं पूर्व सभासद् शिवलाल थापा गुरुछानमगरसहित चार जना व्यक्ति सम्मानित हुने भएका छन् ।
मगर आदिकवि सु. रेखबहादुर सारूमगर साहित्य तथा स्मृति प्रतिष्ठान, तनहुँले ७५ औं रेख जयन्तीका अवसरमा मगर भाषाको पहिलो पत्रिका मानिएको “सेहेच लामाङ ह्वाइङ” अर्थात् “असल बाटोमा हिँडौं”का सम्पादकहरू पूर्व सभासद् थापामगरसहित यामबहादुर आलेमगर, ले. मानध्वज रानामगर (मरणोपरान्त) र तुलबहादुर थापामगर (मरणोपरान्त)लाई “मगर आदिकवि रेख स्मृति साहित्य पुरस्कार–२०७५”बाट सम्मान गर्न लागेको प्रतिष्ठानका अध्यक्ष खड्क आलेमगरले जानकारी दिनुभयो ।
वि.सं. २०६२ सालमा मगर आदिकवि रेखबहादुरका नाममा स्थापित प्रतिष्ठानले विभिन्न साहित्यिक गतिविधि समेत गर्दै आएको छ । तनहुँको रिसिङ गाउँपालिका–५, भीरकोट, अर्चल्डीमा वि.सं. २००१ मा जन्मिएका मगर आदिकवि रेखबहादुरले मगर भाषाका अर्का आदिकवि जीतबहादुर सिंजालीमगरसँग मिलेर मगर साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

Advertisment