मगर आदिकवि रेख पुरस्कार वेदान्त कविरत्न रूद्रबहादुरलाई दिइने

पोखरा, २६ भदौ
मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको ७५ औं जन्मजयन्तीका अवसरमा प्रदान गरिने “मगर आदिकवि सु. रेखबहादुर सारूमगर साहित्य पुरस्कार”बाट यस वर्ष वेदान्त कविरत्न रूद्रबहादुर हितानमगरलाई सम्मान गरिने भएको छ ।
यही भदौ २८ गते मगर आदिकवि रेखबहादुरको जन्मजयन्तीका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रममा वेदान्त कविरत्न रूद्रबहादुरलाई पुरस्कार प्रदान गर्न लागिएको हो । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिले मगर आदिकवि रेखबहादुरका नाममा स्थापना गरेको सो पुरस्कारबाट यसअघि साहित्यकारद्वय फूलकुमारी थापामगर र लोकबहादुर थापामगर “झूस्या मगर” सम्मानित भइसक्नुभएको छ ।
संघका केन्द्रीय सचिव रूद्र “सन्देश” मगरको संयोजकत्वमा नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर र संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर सदस्य रहेको प्रतिभा छनौट समितिले वेदान्त कविरत्नलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने कार्यक्रममा मगर लेखक, साहित्यकारहरूको उपस्थिति रहने संघका प्रदेश अध्यक्ष धीरेन्द्र थापामगर “किसानी”ले जानकारी दिनुभयो ।
तनहुँको रिसिङ गाउँपालिका–५, भीरकोट, अर्चल्डीमा वि.सं. २००१ मा जन्मिएका मगर आदिकवि रेखबहादुर पछि नवलपरासीको मोतीबस्ती, माकरमा बसाइँ सरेका थिए ।

Advertisment