मगर उत्थान समाज, काठमाडौंको छैठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, २५ भदौ
मगर उत्थान समाज, काठमाडौंको छैठौं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले खराब संस्कार र संस्कृतिलाई त्याग्दै जानुपर्ने उल्लेख गर्नुभयो । “हाम्रा कतिपय खराब संस्कारले हाम्रो समाजलाई पछाडि पारेको छ”, अध्यक्ष रोकामगरले भन्नुभयो, “अब हामीले जाँडरक्सी खाने संस्कारलाई क्रमशः कम गर्दै जानुपर्दछ ।”
३० वर्षभन्दा मुनिकालाई जाँडरक्सी खानबाट निषेध गर्नुपर्ने बताउँदै अध्यक्ष रोकामगरले संस्कार जोगाउने नाममा गलत संस्कारको पक्षपोषण गर्न नसकिने बताउनुभयो । विगतमा राज्यले मगर भाषा र संस्कृतिमाथि दमन गरेको भन्दै अध्यक्ष रोकामगरले आफ्नो संस्कृतिलाई आफैंले माया नगरे अरु कसैले नगर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय संरक्षक अधिवक्ता गौबहादुर आलेमगर, समाजकी संस्थापक अध्यक्ष हिरामाया थापामगर, पूर्व प्रहरी नायब उपरीक्षक भीमबहादुर थापामगर, टोखा नगरपालिका–११, काठमाडौंका वडाध्यक्ष उत्तम अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा समाजका ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरू चिनीमाया थापामगर, लालबहादुर रानामगर, टीकाकुमारी रानामगर, सन्तबहादुर थापामगर, भागीरथी थापामगर, पदमबहादुर थापामगर, ज्ञानीमाया थापामगर, अतिमाया थापामगर, भूमिसरा थापामगर, विष्णुमाया सारूमगर, तिलामाया थापामगरलगायतले सम्मान समेत गरिएको थियो ।
समाजका अध्यक्ष क्या. रूद्रबहादुर आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव यशोदा थापामगर र उपाध्यक्ष चन्द्रबहादुर थापामगरले स्वागत गर्नुभएको थियो । साधारणसभाले सचिव दुर्गाबहादुर थापामगर र सहकोषाध्यक्ष निर्मला थापामगरद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

Advertisment