हामी सबै परदेशीको सहकारीद्वारा मृगौलापीडित मीना आलेलाई ६१ हजार सहयोग

काठमाडौं, १८ भदौ
संयुक्त अरब इमिरेट्स (युएई)को दुबई शहरमा रहेका प्रवासी नेपालीहरूद्वारा स्थापित हामी सबै परदेशीको बचत तथा ऋण सहकारी संस्थाले मृगौलापीडित मीना आलेलाई आर्थिक सहयोग गरेको छ ।
समीर तामाङ बचाऊ अभियानका क्रममा संकलित रकम समीर तामाङलाई उपचारार्थ पुगेकाले मृगौलापीडित आलेलाई ६१ हजार ४ सय ५४ रुपैयाँ नगद हस्तान्तरण गरिएको हो । काठमाडौंको ठमेलस्थित लाफा ग्रुप लिमिटेडको प्रधान कार्यालयमा भएको एक कार्यक्रममा मृगौलापीडित आलेलाई सो रकम हस्तान्तरण गरिएको हो ।
तानसेन नगरपालिका–१२, पाल्पाकी बुबा सूर्यबहादुर राना र आमा गोमा रानाकी छोरी एवं श्रीमान् भोजवीर आलेकी श्रीमती रहेकी ३१ वर्षीया आलेलाई सहकारीका अध्यक्ष प्रकाश केसीले सो रकम हस्तान्तरण गर्नुभएको हो ।
सहकारीमा अध्यक्ष केसीसहित उपाध्यक्ष पूर्णिमा घिसिङ, सचिव सुविन अधिकारी, कोषाध्यक्ष प्रदीप भण्डारी, विशेष सल्लाहकार कपिल भट्टराई र सल्लाहकार सिर्जना अधिकारीलगायत ३० सदस्यीय रहेको छ । इलाममाई नगरपालिका–८, इलामनिवासी बुबा सन्तोषकुमार गोले र आमा मुनामाया तामाङका छोरा १४ वर्षीय समीर तामाङको हाल उपचार भइरहेको छ ।

Advertisment