जनचेतना सहकारीको ११ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, १६ भदौ
पोखरा महानगरपालिका–१०, कास्कीमा स्थापित जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीकी उपाध्यक्ष सावित्रा कोइरालाले जनचेतना सहकारी राम्रो सहकारीको रुपमा स्थापित भएको बताउनुभयो । सहकारी दिवसका अवसरमा उत्कृष्ट अध्यक्षका रुपमा पुरस्कृत समेत भएको सहकारी भएको भन्दै कोइरालाले महिलाले नेतृत्व पाए राम्रो गर्न सक्छन् भन्ने उदाहरण समेत भएको बताउनुभयो ।
कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका लेखा समिति सदस्य शेरबहादुर कार्की, अधिवक्ता सुरेन्द्र थापामगर, म्याग्दे गाउँपालिका, तनहुँकी अध्यक्ष मायादेवी रानामगर, लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पूर्णबहादुर रानामगरले सहकारीका माध्यमबाट देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने उल्लेख गर्नुभएको थियो । कार्यक्रममा शिक्षा उपसमिति सदस्य निर्मल थापामगरले सहकारीको सात सिद्धान्त वाचन गर्नुभएको थियो ।
कार्यक्रममा एकल महिलाहरू मैती थापामगर, मायादेवी रानामगर, बुद्धिकुमारी मगर, शशी थापामगर, लक्ष्मी थापामगर, मीना थापामगरलाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट ऋणीद्वय झलककुमारी थापामगर र तिलबहादुर रानामगर, उत्कृष्ट बचतकर्ताद्वय मीना बाकाबलमगर र दुर्गासिंह थापामगरलाई समेत सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष सरस्वती रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ऋण उपसमिति सदस्य विमला आलेमगर र उपाध्यक्ष इन्दिरा थापामगरले स्वागत गर्नुभएको थियो । वार्षिक साधारणसभाले ऋण उपसमितिका संयोजक मोहनसिंह थापामगर, शिक्षा उपसमितिका संयोजक गगनसिंह थापामगर, लेखा समितिका संयोजक महेन्द्र आलेमगर र कोषाध्यक्ष सुशीला रानामगरले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ ।

Advertisment