गलकोट समाज पोखराको दर खाने कार्यक्रममा ज्येष्ठ नारी सम्मान

पोखरा, १६ भदौ
गलकोट समाज पोखराले आयोजना गरेको दर खाने कार्यक्रममा एक ज्येष्ठ नारी सम्मानित भएकी छन् । हरितालिका तीजको अवसरमा शनिबार आयोजित कार्यक्रममा गलकोट समाज पोखरामा आबद्ध कार्यक्रममा सहभागीमध्ये सबैभन्दा ज्येष्ठ ८३ वर्षीया मनकुमारी थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा दर खाने कार्यक्रमको प्रायोजन गर्ने समाजका अध्यक्ष मीनबहादुर खत्री र उहाँको परिवारलाई पनि विशेष सम्मान गरिएको थियो । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालले आयोजना गरेको राष्ट्रव्यापी एकल लोकगायन प्रतियोगितामा द्वितीय हुन सफल गलकोट समाज पोखराका आजीवन सदस्य लोक तथा दोहोरी गायक रेशम निर्दोषलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा गायक निर्दोषसहित अर्का लोक तथा दोहोरी गायक ईश्वर सिंहले विभिन्न सांगीतिक प्रस्तुतीसहित मनोरञ्जन दिलाएका थिए ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद् दिलमाया रोका ‘दीपा’ले महिलाहरू एकजुट नभएसम्म समाज परिवर्तन सम्भव नभएको बताउनुभयो । देशको समृद्धिका लागि समेत महिलाहरूको मुख्य भूमिका हुने भन्दै सांसद् रोकाले मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।


बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्मा र प्रभु बैंक, अमरसिंहचोक शाखाका प्रबन्धक चेतनारायण गौतमले समाजले निकै राम्रा क्रियाकलापहरू गर्दै आएको भन्दै आगामी दिनमा पनि रचनात्मक कार्यलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।
गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीस र उपाध्यक्ष राधिका खत्रीले स्वागत गर्नुभएको थियो भने शुभ पाण्डेले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Advertisment