खोजी होइन गोजी पत्रकारिता हावी भयो ः श्रेष्ठ

पोखरा, १७ साउन
प्रेस काउन्सिल, नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अहिले नेपाली पत्रकारिता क्षेत्रमा अराजकता हावी हुँदै गएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ, कास्की शाखाको संयोजनमा काउन्सिलले बिहीबार पोखरामा आयोजना गरेको ‘पत्रकार आचारसंहिता जागरण अभियान–२०७५’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले पत्रकारहरू बिस्तारै ‘रोबोट’ बन्दै गएको टिप्पणी गर्नुभयो ।
‘सञ्चारमाध्यमको संख्या बढ्दै गयो, पत्रकारहरू पनि बढे’, उहाँले भन्नुभयो, ‘तर, त्यससँगै अराजकता पनि मौलाउँदै गयो ।’ पछिल्लो समय खोजी पत्रकारिता हराएको भन्दै श्रेष्ठले ‘गोजी’ पत्रकारिता हावी हुँदै गएको बताउनुभयो । ‘पत्रकारिताको आफ्नै आचारसंहिता छ’, उहाँले भन्नुभयो, ‘तर, पत्रकार अटेर हुँदै गए, आचारसंहिता उल्लंघन हुँदै गयो ।’ पत्रकारहरूलाई आचारसंहिता पढेर पालना गर्न आग्रह गर्दै श्रेष्ठले आचारसंहिता पालना गरे पत्रकारले धम्की र कुटाइ खानु नपर्ने दाबी गर्नुभयो ।
आमसञ्चार विज्ञ टीकाराम राईले पत्रकार स्वनियममा बस्नुपर्ने बताउँदै पत्रकारिताको आचारसंहिता कडाइका साथ पालना गरिनुपर्नेमा जोड दिनुभयो । पत्रकारितालाई मर्यादित बनाउन आचारसंहिता पालना गर्नुपर्ने बताउँदै उहाँले आचारसंहिता उल्लंघनले पत्रकारितामा चुनौती बढाएको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारले समाचार लेख्दा सन्तुलिन भएर लेख्नुपर्नेमा जोड दिँदै डर र लोभबाट पत्रकार टाढै रहनुपर्ने बताउनुभयो ।
नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले दबाब, प्रभाव र अभावले आचारसंहिता उल्लंघन भइरहेको बताउँदै पत्रकार सधैं सत्यको पक्षमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रेस काउन्सिल, नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकारिताको आचारसंहिताबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताउँदै आचारसंहिता उल्लंघनका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिमिल्सिना र उपाध्यक्ष विमला भण्डारीले स्वागत गर्नुभएको थियो ।

Advertisment