कास्कीका सरकारी कार्यालयमा बिचौलियालाई छिर्न दिइन्न ः प्रजिअ बुढा

पोखरा, १६ साउन
हालै मात्र सरुवा भएर आएका कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले कास्कीका सबै कार्यालयमा बिचौलियालाई छिर्न नदिने घोषणा गर्नुभएको छ ।
मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय कास्कीको कार्यभार सम्हालेका उहाँले बुधबार पत्रकार सम्मेलन गरी कास्कीका मालपोत, यातायातलगायत सबै कार्यालयमा बिचौलिया निषेध गर्ने बताउनुभएको हो । यद्यपि, यी कार्यालयमा यसअघि देखि नै बिचौलिया निषेध गरिएको थियो तर यो पूर्ण रुपमा लागू भइनसकेको अवस्थामा नयाँ प्रजिअ बुढाले यसलाई पूर्ण रुपमा बिचौलिया निषेधित क्षेत्र बनाउने उद्घोष गर्नुभयो ।


प्रमुख जिल्ला अधिकारी बुढाले सरकारले घोषणा गरेको सिण्डिकेट अन्त्यलाई कास्कीमा पूर्ण रुपमा लागू गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कास्कीमा समितिको नाममा, एनजिओ, आइएनजिओलगायतका नाममा भएका सबै सिण्डिकेट अन्त्य हुन्छ, अब तिनीहरूको नवीकरण हुँदैन ।’ उहाँले नेपाल सरकारको निर्णय अनुसार ट्याक्सी मिटरमा चल्नैपर्ने बताउँदै यसलाई कडाइका साथ लागू गर्ने बताउनुभयो ।
प्रजिअ बुढाले शान्ति सुरक्षा र अमनचयन कायम गर्ने बताउँदै त्यसका लागि कसैसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘शान्ति सुरक्षा वा अमनचयन कायम गर्नका लागि कसैसँग पनि कम्प्रोमाइज गर्दिनँ, गुनासो सुनुवाई वा सेवाग्राहीलाई दिइने सेवामा छिटो छरितो बनाउँछु ।’
उहाँले फेवाताल, बसपार्कलगायतका सार्वजनिक जग्गा अतिक्रमणबारे आफू जानकार भए पनि त्यसमा निर्णय गर्ने आफ्नो क्षेत्राधिकार नभएकाले पोखरा महानगरपालिकाले गरेका निर्णय अनुसार कार्यान्वयन गर्ने बताउनुभयो ।

Advertisment