पाँच वर्षभित्र गण्डकी प्रदेशमा तीन हजार मेगावाट विद्युत उत्पादन गर्ने मुख्यमन्त्री गुरुङको भनाइ

पोखरा, १५ भदौ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच वर्षभित्रमा गण्डकी प्रदेशमा तीन हजार मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकार अगाडी बढेको बताउनुभएको छ ।
अझै पनि गण्डकी प्रदेशमा १४ प्रतिशत जनताको घरमा विद्युतको पहुच पुग्न नसकेको बताउँदै त्यस्ता जनतालाई लक्षित गरेर गण्डकी प्रदेश सरकारले पाँच वर्ष भित्रमा तीन हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ प्रदेश सरकार अगाडी बढेको मन्त्री गुरुङको भनाइ रहेको थियो ।
एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्युरोले टेलिभिजनको १० औं वार्षिकोत्सवको अवसरका पोखराको माण्डटकैलाश रिसोर्टमा आयोजित हाम्रो नेपाल उज्यालो नेपाल विषयक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रदेश सरकारले पांच वर्ष भित्र तीन हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने लक्ष्यका साथ अगाडी वढिरहदा एबीसी टेलिभिजनले समसामयिक विषय उठान गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । मुख्यमन्त्री गुरुङले संघीय सरकारका कर्मचारीले प्रदेश सरकारलाई असहयोग गरेको गुनासो समेत गर्नुभयो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ पूर्ण रुपमा अन्त्य भएको बताउँदै प्राविधिक कारणबस कहीँ कतै विद्युत आपूर्तिमा अवरोध आएको बताउनुभयो ।
केहिबेर लाइन काटिँदा लोडसेडिङ भयो भन्ने मानसिकता भएको भन्दै एउटै पोलमा ४ वटा सर्किट भएकाले, एउटामा समस्या आउदा सवै लाईन काटेर मर्मत गर्नुपर्ने, जीर्ण बन्दै गएको पोलहरु लडदा लाइन जाने जस्ता प्राविधिक कारणलाई लोडसेडिङ भन्न नमिल्ने उहाँले बताउनुभयो । अब चाँडै प्राविधिक समस्याहरु पनि समाधान हुने घिसिङको भनाइ रहेको थियो ।
एबीसी टेलिभिजनको अध्यक्ष शुभशंकर कँडेलले एबीसीले विभिन्न राजनीतिक परिस्थितिका आधिवेरी पन्छ्याउदै गाउँ, शहर र दुनियाँ बिउँझाउन, वास्तविक सूचना दर्शकसम्म पु¥याउन निरन्तर लागि परेको बताउनुभयो । तर, अहिले मिडियालाई तर्साउने कानुन बनेकोले त्यसले ठूलो खतरा उब्जेको र त्यसलाई सम्बोधन गर्नुपर्ने भनिए पनि ढिलाई भएको उहाँले बताउनुभयो। संक्रमणकालिन राजनीतिमा निकास दिन मिडिया तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अब आर्थिक सम्बृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पोखरामा क्रियाशील १० जनालाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थामा युनाइटेड क्लव पोखरा, मुक्तिनाथ बिकास बैक लिमिटेड, पोखरा बृहत सफाइ अभियान, युवा उद्यमी माइकल कर्माचार्य, पर्यटन ब्यवशायी नरेश भट्टराई र सुन्दरकुमार श्रेष्ठ, समाजसेवी मीना गुरुङ, सामाजिक अभियन्ता हिरु पुन, सांस्कृतिक अभियन्ता मेनकाजी गुरुङ र सचेतना समाज पोखरा रहेका छन् ।


सम्मानित हुने व्यक्ति तथा संस्थालाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, एबीसी टेलिभिजनका अध्यक्ष तथा मिडिया सोसाइटी नेपालका अध्यक्ष शुभशंकर कँडेलले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्यूरो पोखराका ब्युरो प्रमुख एमबी आस्था, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया, पत्रकार राजन पौडेललगायतले बोल्नुभएको थियो ।

Advertisment