नेकपा कास्कीमा नेपाल समूहको असन्तुष्टि, आफूहरूलाई बेवास्ता गरिएको आरोप

पोखरा, १२ भदौ
तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि अहिले स्थानीय तहमा पार्टी एकीकरण प्रक्रिया चलिरहेको छ । दुई ठूला कम्युनिष्ट पार्टी एक भएसँगै एकातिर खुशीको सञ्चार भएको छ भने अर्कातिर असन्तुष्टिको स्वर पनि उत्तिकै रुपमा छ ।
स्थानीय तहमा पार्टी समायोजन गर्न गठित कार्यदलले एकपक्षीय रुपमा नाम सिफारिस गरेको भन्दै असन्तुष्टि प्रकट हुन थालेका छन् । कतिपय प्रदेश र जिल्लाहरूमा सर्वसम्मत नेतृत्वसँग समितिको नाम टुंगो लागेपनि गण्डकी प्रदेशमा भने अझै टुंगो लाग्न सकेको छैन । कार्यदललाई नाम सिफारिस गर्नै हम्मे परिरहेको छ ।
नेकपा कास्कीमा पनि असन्तुष्टिको स्वर सुनिएको छ । खासगरी, पूर्व एमाले समूहभित्र असन्तुष्टि चर्को देखिएको छ । पार्टी एकता नभइ आफ्ना नजिकका मान्छेलाई मात्र समितिमा भर्ती गर्ने काम गरिएको भन्दै नेकपा नेता माधवकुमार नेपाल समूहका नेता, कार्यकर्ताहरूले अन्सन्तुष्टि पोख्न थालेका छन् ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड पक्षकालाई मात्रै जिल्ला कमिटी र महानगर कमिटीमा सिफारिस गरिएको भन्दै नेपाल समूह असन्तुष्ट बनेको छ । लामो समयदेखि पार्टीमा प्रतिबद्ध आफूहरूलाई कमिटीमा सिफारिस नगरी राप्रपा, अखण्ड नेपाल पार्टीजस्ताबाट आएका नवप्रवेशीलाई बढी प्राथमिकता दिइएको उनीहरूको आरोप छ ।
जिल्ला कमिटीमा सिफारिस गर्न योग्य जिल्लास्तरीय नेताहरू मुक्ति पौडेल, होम नेपाली, प्रकाश सिग्देल, चेतबहादुर गुरुङ, पूर्ण लामा, सुरेन्द्र गुरुङ, रघुनाथ भण्डारी, खगराज आचार्य र गोकर्ण तिवारीलाई नेपाल समूहको भएकै कारण कमिटीको सूचीमा नराखिएको आरोप उनीहरूले लगाएका छन् । त्यस्तै, पोखरा महानगर कमिटीमा सिफारिस हुनुपर्ने बेनबहादुर गुरुङ, ठाकुर शर्मा, सुशील बस्नेत, डीबी राई, प्रेम थापा, श्रीप्रसाद गुरुङ, पूर्णबहादुर थापा, मित्रलाल सुवेदी, सुरेन्द्रमान भण्डारी, मनोहर आचार्य, ख्यामनारायण पौडेल, शशीधर पराजुली, कमल भुजेल, राजकुमारी भुजेल, शशीकमला लामिछाने, जंगबहादुर कुँवर, लोकबहादुर कार्की, रामहरि गुरुङ, विष्णु गुरुङलगायतलाई गुटबन्दीको शिकार बनाइएको नेपाल समूहका एक नेताले आरोप लगाए ।
पार्टीलाई बदनाम गराउने र भ्रष्ट व्यक्तिहरूलाई कमिटीमा राखिएको भन्दै उनीहरूले नेताहरूका नातेदारलाई मात्रै प्रश्रय दिइएको आरोप समेत लगाएका छन् ।

Advertisment