कुमार राना बचाउन साउदी अरबबाट १२ लाख जुट्यो

पोखरा, ११ भदौ
ब्लडमनी तिर्न नसकेर विगत ११ महिनादेखि साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट संकलित रकम हस्तान्तरण गरिएको छ । आदिवासी जनजाति महासंघ, साउदीका पूर्वअध्यक्ष तथा समाजसेवी हुम सुनारी मगरको नेतृत्वमा साउदी अरबमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले संकलन गरेको उक्त रकम सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
मगर अन्तर्राष्ट्रिय मञ्चको आह्वानमा साउदीमा क्रियाशील संस्थाहरू पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, जनप्रगतिशिल मञ्च, लाङ्घाली स्पोर्टस् समूह, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरूले कुमार रानाको जीवन रक्षाका लागि साउदी अरबमा संकलित रकम १२ लाख १६ हजार सात सय ७७ रुपैयाँ हस्तान्तरण गरिएको हो।
नेतृत्वकर्ता सुनारीका श्रीमती कुमारी सुनारी मगरको उपस्थितीमा नेपाल मगर संघका विदेश विभाग सचिव रक्षबहादुर रैका मगर, संघका कोषाध्यक्ष कमला थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङ, पारिवारिक सेवा समाज साउदीका अर्जुन गमन तामाङले ‘कुमार राना बचाउनका निम्ति ब्लडमनि संकलन अभियान’का संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाकी श्रीमती अम्बिका रानालाई हस्तान्तरण गरिएको हो।


रकम बुझ्दै अभियानका संयोजक ढकालले राउदी अदालतले तोकेको २ लाख ९४ हजार रियलमध्ये पीडित पक्षसँग कुराकानी गर्दा ४४ हजार रुपैयाँ पीडित पक्षले माफी दिने लिखित सहमति भएको बताउँदै कुमारले काम गर्ने कम्पनीले ५० हजार रियल दिने मौखिक सहमति गरेको जानकारी दिनुभयो । तर, कम्पनीले लिखित सहमति नगरेका कारण उक्त रकम अहिलेसम्म निश्चित नभएको बताउनुभयो ।
ढकालले कम्पनीले रकम उपलब्ध गराएमा अदालतले तोकिएको ब्लडमनी संकलन भइसकेको र कम्पनीले आश्वासन दिएको रकम नआएमा अझै थप ७ लाख रुपैयाँ आवश्यक पर्ने बताउनुभयो । अभियानका अनुसार हालसम्म करिब ६७ लाख १६ हजार बढी रकम संकलन भइसकेको छ।
रोजगारीका लागि साउदी गएका गोरखाका कुमार राना कम्पनीको गाडी चलाउँदा दुर्घटनामा परेका थिए। दुर्घटनामा साउदी एक नागरिक घाइते भएर ८३ लाख रुपैयाँ माग दाबी गर्दै उहाँलाई जेल पठाइएको थियो।
यसअघि, सुनारीको नेतृत्वमा ब्लडमनि तिर्न नसकेर साउदी जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई बचाउन ९ लाख २७ हजार ११८ रुपैयाँ सहयोग जुटेको थियो।

Advertisment