मगर लेखक संघ गण्डकी प्रदेश अध्यक्षमा थापा

पोखरा, ९ भदौ
नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा तनहुँका साहित्यकार धीरेन्द्र थापामगर ‘किसानी’ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
शनिबार पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट उपाध्यक्षमा खड्क आलेमगर (तनहुँ), सचिवमा मीगीन (तनहुँ), सह–सचिवमा दीपक सिंजालीमगर (स्याङ्जा) र कोषाध्यक्षमा पुनम थापामगर (पर्वत) चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा लक्ष्मी पुनमगर (बागलुङ), तुलसी पुर्जामगर (म्याग्दी), दिनेश रोकामगर (कास्की), भोज खण्डलुकमगर ‘विवश’ (नवलपुर), ऋतु आलेमगर (तनहुँ) रहनुभएको छ । त्यसैगरी, पदेन सदस्यहरूमा कास्की जिल्ला अध्यक्ष पूर्ण ठाडा रानामगर, गोरखा जिल्ला अध्यक्ष अस्मिता थापामगर र तनहुँ जिल्ला कार्यवाहक अध्यक्ष बादल आलेमगर रहनुभएको छ । प्रदेशका अन्य जिल्लाहरूमा समेत छिटै संगठन विस्तार गरिने नवनिर्वाचित अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।


यसअघि, अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय महासचिव जीवनप्रवेश रोकामगरले मगर साहित्य लेखनलाई मगर लेखकहरूले विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । जतिसक्दो लेखनलाई जोड दिने र संख्यात्मक वृद्धिलाई विशेष ध्यान दिनुपर्ने बताउँदै महासचिव रोकामगरले अहिले नै गुणस्तरीयता खोज्ने बेला भइनसकेको बताउनुभयो ।
मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले मगर भाषाको मानक लेखन प्रणालीलाई भत्काउन नहुनेमा जोड दिँदै मगर भाषाको लेखनमा एकरुपता जरुरी रहेको बताउनुभयो । आदिकवि जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले मगर साहित्यमा मगरपन भेटिन छोडेकोमा चिन्ता व्यक्त गर्दै अरुको देखासिकीमा मगर साहित्य लेख्न खोज्नु गलत भएको बताउनुभयो ।
नेपाल मगर संघका पूर्व महासचिव एवं अधिवक्ता सुरेन्द्र थापामगरले अरुजस्तो हुन खोज्नु, अरुको राम्रो देख्ने सोंच नै गलत भएको भन्दै आफ्ना कुरालाई राम्रो मानेर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल मगर लेखक संघका पूर्व महासचिव उजीर रानामगरले मगर भाषामा धेरै भन्दा धेरै कृति प्रकाशन गर्नुपर्नेमा जोड दिँदै अहिले नै गुणस्तर खोज्ने बेला नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संघका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगर, केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, म्याग्दे गाउँपालिका, तनहुँकी अध्यक्ष माया रानामगर, नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नेपाल मगर पत्रकार संघ, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरलगायतले बोल्नुभएको थियो । सो अवसरमा भोज खण्डलुकमगर, लक्ष्मी पुनमगर, यशोदा थापामगरलगायतले आ–आफ्ना रचना वाचन गरेका थिए । साथै, कार्यक्रममा नेपाल मगर लेखक संघ, गण्डकी अञ्चल समितिको स्मारिका ‘मीढीर’ (किरण) र संघका पूर्व केन्द्रीय सदस्य जनक माकिममगर ‘मीमीक’को मगर भाषाको नयाँ कृति ‘नमखान छ्योट आरील्हीङ’ (मगर भाषाको खण्डकाव्य) समेत विमोचन गरिएको थियो ।


नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिकी अध्यक्ष गीता थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ऋतुभक्त थापामगर र उपाध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’ले स्वागत गर्नुभएको थियो ।

Advertisment