नेपालमा लगानी गर्न जापानलाई गृहमन्त्री बादलको आग्रह

काठमाडौं, ६ भदौ
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जापान सरकारलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
नेपाल सरकार सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेको भन्दै गृहमन्त्री बादलले नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले मार्फत यस्तो आग्रह गर्नुभएको हो ।
गृहमन्त्री बादल र राजदूत साइगोबीच बुधबार भएको शिष्टाचार भेटवार्ताका क्रममा गृहमन्त्री बादलले नेपालको पूर्वाधार, ऊर्जा, पर्यटन, कृषिलगायतको क्षेत्रमा जापानको सहयोग आवश्यक रहेका बताउनुभएको थियो ।
गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री बादलले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भइसकेको चर्चा गर्दै सुरक्षा निकाय लगायत अन्य क्षेत्रमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
भेटमा राजदूत साइगोले आफू गत जुन महिनामा मात्रै नेपालको राजदूतको रुपमा कार्यभार सम्हालेको गृहमन्त्री बादललाई जानकारी दिँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुत बनाउने बताउनुभएको थियो ।
उहाँले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धतामेत व्यक्त गर्नुभयो । राजदूत साइगोले आफूलाई कृषि क्षेत्रको समेत अनुभव रहेको भन्दै सो अनुभवको आधारमा नेपालको कृषि क्षेत्रको विकासका लागिसमेत पहल गर्ने बताउनुभयो ।
उहाँले विभिन्न कामका लागि नेपाल बसिरहेका र भ्रमणमा आउने जापानीहरुको सुरक्षामा ध्यान दिनसमेत गृहमन्त्री बादललाई आग्रह गर्नुभएको थियो ।

Advertisment