जनआन्दोलनकी घाइते लीला गुरुङको उपचारका लागि तमु समाज बेल्जियमद्वारा १ लाख ५९ हजार सहयोग

पोखरा, ३० साउन
०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका बेला पोखराको चिप्लेढुंगामा भएको सुरक्षाकर्मीको गोली लागी घाइते भएकी लीला गुरुङलाई तमु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ ।
तत्कालिन युद्धको बेला २०६२ सालमा पोखराको चिप्लेढुंगामा तरकारी बेचेर जीविकोपार्जन गर्दै आएको लीला गुरुङलाई सुरक्षाकर्मीले आन्दोलनकारीमाथि हानेको गोलीको छर्रा लागेर घाइते भइ हाल सम्म पनि उपचाररत रहेको थाहा पाएपछि तमु समाज बेल्जियमले नगद १ लाख ५९ हजार दुइ सय ५ रुपैयाँ सहयोग गरेको हो ।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा लीला गुरुङको बारेमा जानकारी पाएपछि तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङको सक्रियतामा बेल्जियममा बसोबास गर्ने नेपालीहरुद्वारा संकलित रकम पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले मंगलबार घाइते लीला गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । मंगलबार तमु धिं नेपालको प्राड्डणमा आयोजित ट्होटें पर्वको कार्यक्रमका बिच बेल्जियममा संकलित रकम तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, गण्डकी प्रदेशका सांसद् मनबहादुर गुरुङ र पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले उक्त रकम घाइते लीला गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो समारोहमा बोल्दै तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जनयुद्ध एवं जनआन्दोलनका बेला घाइते भएकाहरु अझैपनि औषधी उपचार नपाएर जीवन मरणको दोसाधमा बाँचिरहदा प्रवासमा रहेका नेपालीहरुले आफ्नो देशको घाइते पीडितहरुलाई सहयोग गर्नु सराहनीय काम भएको बताउनुभयो ।
रकम हस्तान्तरण समारोहमा बोल्दे पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले सरकारले जनयुद्धका घाइतेलाई सहयोग नगर्नु निकै दुखद पक्ष रहेको वताउदै युद्धका घाइते लीला गुरुङको बारेमा विभिन्न सामाजिक सञ्जाल र मिडियाहरूमा समाचार आएपछि बेल्जियममा रहेको तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङले आफ्नो सक्रियतामा प्रवासी नेपालीहरुबाट संकलित रकम घाइते लीलालाई प्रदान गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । लिला जस्तै कैयौ घाइतेहरू अझैपनि जीवन मरणको दोसाँधमा वाचिरहेकाले सरकारले पनि उनीहरुको जीवनको बारेमा सोच्नुपर्ने र सहयोग गर्नुपर्नेमा गुरुङले जोड दिनुभयो ।
उक्त अवसरमा सहयोग रकम बुझ्दै घाइते लीला गुरुङले आफुले सरकारबाट केही सहयोग नपाइरहेको बेला विभिन्न संघ सस्थाहरुको सहयोगबाटै आफुले उपचार गर्दै आइरहेको बताउँदै तमु समाज बेल्जियमले आफूलाई लगाएको गुण कहिल्यै नभुल्ने बताउनुभयो । पोखराको चिप्लेढुड्डाको सडक पेटीमा फलफूल बेचिरहेको बेला २०६२ सालमा सुरक्षाकर्मीले आन्दोलनकारीलाई प्रहार गरेको गोलीको छर्रा लागेर घाइते भएकी लीला गुरुङ अहिले निकै नाजुक अवस्थामा जीवन निर्वाह गर्दै आइरहनुभएको छ ।

Advertisment