पृथ्वीनारायण क्याम्पस प्रमुख थापा नेतृत्वको टोली जापान प्रस्थान

पोखरा, २८ साउन
जापानका दुई विश्वविद्यालयको निमन्त्रणामा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको नेतृत्वमा तिन सदस्यीय टोली साउन २८ गते औपचारिक भ्रमणका लागि जापानतर्फ प्रस्थान गरेको छ । भ्रमण टोली भदौ ५ गते स्वदेश फर्कने छ ।
भ्रमण टोलीले जापानका वाकानाई विश्वविद्यालय र मुरोरान ईन्स्टिच्युट अफ् टेक्नोलोजीमा संयुक्त गोष्ठीमा कार्यपत्र प्रस्तुतीकरण दिनुका साथै दुबै संस्थासंग द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
वाकानाई विश्वविद्यालयका प्राध्यापक डा. विष्णुप्रसाद गौतम र मुरोरान ईन्स्टिच्युट अफ् टेक्नोलोजीका प्राध्यापक काजुहिको सातोले भ्रमणको पहल गरिदिनु भएको थियो । वहाँहरू दुबै आ–आफ्ना टोलीका साथ केहि महिनाअघिको नेपाल भ्रमणको बेलामा पृथ्वीनारायण क्याम्पससंगको सहकार्यात्मक कार्यक्रममा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने कुरा तय भएको थियो ।
पृथ्वीनारायण क्याम्पसअन्तर्गत रहेको क्यू्एए÷रिफर्म युनिट र अन्तर्राष्ट्रिय सम्बन्ध एकाईका संयोजक सह–प्राध्यापक डा. मीन पुनका अनुसार, क्याम्पसले उच्च शिक्षालाई गुणस्तरीय बनाउन अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि अगाडि बढाउनु पर्छ । वहाँले भन्नुभयो, “क्याम्पसले चीनको हेफी विश्वविद्यालयसँग प्राज्ञिक सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको, जापानतर्फको भ्रमण टोलीले दुई जापानिज विश्वविद्यालयसंग सम्झौता गर्ने र निकट भविष्यमा भारतको महाराष्ट्र विश्वविद्यालयसंग सम्झौता गर्ने छ ।”
भ्रमण टोलीले जापानमा रहँदा पोखरा शहर र वाकानाई शहरबीचको मित्रताको सम्बन्ध कायम गराउनसमेत पहल गर्ने छ । यसका लागि टोलीले पोखरा लेखनाथ महानगरपालिकाको तर्फबाट वाकानाई शहरका लागि मित्रताको प्रस्तावसमेत लिएर गएको छ । टोलीले वाकानाई शहरका मेयरसंग भेटने कार्यक्रम पनि तय भएको छ ।
भ्रमण टोलीमा प्राणीशास्त्र विभागका उप–प्राध्यापक रामजी गौतम र वी.एससी. सीएसआईटी कार्यक्रमका फ्याकल्टी पृथ्वीराज पनेरु समावेश हुनुहुन्छ ।

Advertisment