१९ औं स्थापना दिवसमा फोनिज कास्कीद्वारा पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण

पोखरा, २७ साउन
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को १९ औं स्थापना दिवसको अवसरमा फोनिज कास्कीको आयोजनामा एकदिने पत्रकार आचारसंहिता सम्बन्धीे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा वोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आदिवासी जनजातिको पक्षमा आवाज बुलन्द बनाउदै आएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले विभिन्न तह तप्कामा रहेर आदिवासी जनजातिको आवाज उठाउदै आइरहेको सन्दर्भमा अव जिम्मेवार पत्रकारिता मार्फत अगाडी वढ्नुपर्नेमा जोड दिनुभयो । स्थापना दिवसको अवसरमा आयोजित पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखिकरणले भदौ देखी लागु हुने मुलुकी ऐनको बारेमा पत्रकारलाई जानकारी दिएर महत्वपूर्ण काम गरेको श्रेष्ठको भनाइ रहेको थियो ।
पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न कार्यक्रममा युवा पत्रकार भरत कोइरालाले कार्यक्रममा उपस्थित पत्रकारहरुलाई अभिमुखिकरण गरेका थिए । सो अवसरमा वोल्दै पत्रकार कोइरालाले पछिल्लो समय रुवाइ पत्रकारिता हावी भएकाले त्यसप्रति पत्रकारहरु सचेत हुनुपर्ने बताउनुभयो । कोइरालाले केही यु ट्युव सञ्चालन गर्ने पत्रकार र केही टेलिभिजन कर्मीहरुले मनोमानी ढंगले पिडामा परेकालाई झनै पिडा हुने गरी कार्यक्रमहरु बनाउने गरेको वताउदै त्यस्ता क्रियाकलापले पत्रकारिताको मर्मलाई कमजोर बनाउने बताउनुभयो । उक्त अवसरमा कोइरालाले आगामी भदौ देखी लागु हुने नयाँ मुलुकी ऐनले पत्रकारलाई पार्न सक्ने बाधा अफ्ठेरोको बारेमा समेत जानकारी गराउनुभएको थियो ।
फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, फोनिज गण्डकी प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । फोनिज कास्कीका भूपाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।

Advertisment