बागलुङ–पोखरा मगर समाजको अध्यक्षमा पुनः रामबहादुर

पोखरा, २६ साउन
बागलुङ–पोखरा मगर समाजको छैठौं अधिवेशन तथा १२ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः रामबहादुर पुनमगर दोहोरिनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट केही हेरफेरसहित पहिलेकै नेतृत्व दोस्रो कार्यकालका लागि दोहोरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा कृष्णाकुमारी श्रीसमगर, सचिवमा गजेन्द्र थापामगर, सह–सचिवमा नरमाया पुनमगर, कोषाध्यक्षमा कृष्णा पुनमगर र सह–कोषाध्यक्षमा हिमबहादुर श्रीसमगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा सु. चन्द्रबहादुर थापामगर, शान्ति पुनमगर, चन्द्रकली मगर्नी, डिलमाया रानामगर, धनमाया थापामगर, हिरा पुनमगर, माया पुनमगर, उत्तम पुनमगर र सुनिता रानामगर चयन हुनुभएको छ । समाजको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद् चन्द्रबहादुर बुढामगर ‘सागर’ले बागलुङ जिल्लालाई विकासका दृष्टिले अर्को ‘कर्णाली’ बनाउन नदिने बताउनुभयो । ‘हामी कुनै पनि हालतमा बागलुङलाई ‘कर्णाली’ बनाउन दिने छैनौं’, सांसद् सागरले भन्नुभयो, ‘बागलुङको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्छ, हामी जनताको पक्षमा सधैं हुनेछौं ।’


मगर जाति उत्पीडित जाति भएको र मगर जातिको पहिचान, संस्कृति र सभ्यतामाथि विगतमा आक्रमण भएको भन्दै सांसद् सागरले भाषा, संस्कृति संरक्षणका लागि अभियानमा एकताबद्ध भएर जुट्नुपर्ने बताउनुभयो । ‘हाम्रो समस्या भनेको उत्पीडन हो, विभेद हो’, उहाँले भन्नुभयो, ‘प्राप्त उपलब्धीको रक्षा गर्दै बाँकी अधिकारका लागि अब अघि बढ्नुपर्छ ।’
राष्ट्रिय जनमोर्चा (राजमो)का प्रदेश सांसद् कृष्ण थापामगरले उत्पीडित जातिहरूलाई राज्यले हेंला गरेको भन्दै अहिलेको मूल समस्या भनेको उत्पीडनको समस्या या त वर्गीय समस्या भएको बताउनुभयो । ‘मूल समस्या उत्पीडनको समस्या हो, वर्गीय समस्या हो’, उहाँले भन्नुभयो, ‘यो बेला भनेको संघर्षको बेला हो, समृद्धिको प्रश्नमा हाम्रो विमति छैन, तर, समृद्धि बाजा बजाएर आउँदैन ।’


अर्की नेकपा सांसद् सावित्री रानामगरले राज्यका हरेक अंगमा मगर जातिको प्रतिनिधित्वका लागि अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै मगर जातिको आफ्नै गर्विलो इतिहास रहेको बताउनुभयो ।

त्यस्तै, नेकपाकी अर्की सांसद् दिलमाया रोकामगर ‘दीपा’ले आफ्नो हक, अधिकारका लागि निरन्तर संघर्ष आवश्यक पर्ने भन्दै पाएको अधिकार प्रयोग गर्दै बाँकी अधिकारका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।


राजमोकी अर्की सांसद् पियारी थापामगरले मगर जाति अझै पनि पिछडिएको अवस्थामा रहेको भन्दै अधिकारका लागि संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश पौडेलले नयाँ संविधान अनुसार सबै जातजातिले समान अधिकार पाउने भनेकाले राज्यका हरेक कुरामा सबैको समान हक रहने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङले आदिवासी जनजातिहरूको अधिकारका निम्ति अझै पनि सडक आन्दोलनको आवश्यकता रहेको भन्दै सांसद्हरूलाई सदनबाट आवाज उठाउन अनुरोध गर्नुभयो । नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगरहरूको भाषा, संस्कृति लोप हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्दै पहिचान स्थापित गर्नका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
समाजका सल्लाहकार ढकबहादुर पुनमगरले शैक्षिक अवस्था सुधार्दैै अघि बढ्नुपर्नेमा जोड दिँदै मगर जातिमा नेतृत्व विकासको खाँचो रहेको बताउनुभयो । बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माले बागलुङेहरू जहाँ रहेपनि र जुनसुकै जाति र समुदायको भएपनि भावनात्मक रुपमा एक रहेको उल्लेख गर्नुभयो ।


कार्यक्रममा बागलुङ जिल्लाबाट विभिन्न पार्टीबाट निर्वाचित ६ जना प्रदेश सांसद्हरू, वडाध्यक्ष प्रकाश पौडेल र बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्मालाई मगर जातिको परम्परागत पोशाक भाङ्ग्रा र पछ्यौरीले सम्मान गरिएको थियो । साथै, सो अवसरमा समाजका सांस्कृतिक संयोजक लोक तथा दोहोरी गायक सञ्जय पुनमगर र लोक तथा दोहोरी गायिका भवि घर्तीमगरले सांगीतिक प्रस्तुती राखेका थिए भने विभिन्न कलाकारले नृत्य पनि प्रस्तुत गरेका थिए ।


छैठौं अधिवेशन तथा १२ औं वार्षिक साधारणसभाले सचिव गजेन्द्र थापामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगर र उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो ।

Advertisment