केन्पो खुकुरी मार्शल आर्टस् गण्डकी प्रदेशद्वारा खेलकुद मन्त्री विश्वकर्मालाई स्वागत

पोखरा, २५ साउन
नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ गण्डकी प्रदेश समितिले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई पोखरामा स्वागत गरेको छ ।
संघको गण्डकी प्रदेश समिति गठन भएपछि पहिलोपटक मन्त्री विश्वकर्मालाई स्वागत गरिएको हो । प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङसहितको पदाधिकारी टोलीले मन्त्री विश्वकर्मालाई स्वागत गरेको हो ।
सो अवसरमा अध्यक्ष गुरुङसहित प्रदेश सांसद् एवं वरिष्ठ उपाध्यक्ष इन्द्रधारा विष्ट, उपाध्यक्ष दिलु गुरुङ, महासचिव रूद्रबहादुर श्रीस, कोषाध्यक्ष अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’को समेत उपस्थिति रहेको थियो । संघको प्रदेश समितिका तर्फबाट अध्यक्ष गुरुङले केन्पो खुकुरी मार्शल आर्ट खेल र संघका बारेमा जानकारी गराउनुभएको थियो ।
क्यानाडाको प्रमुख खेलका रुपमा चिनिएको केन्पो खुकुरी नेपालमा नयाँ खेलका रुपमा भित्रिएको भन्दै अध्यक्ष गुरुङले यस खेलको विकास र विस्तारका लागि संघ क्रियाशील रहेको बताउनुभएको थियो । उहाँले राज्यका तर्फबाट पनि यस खेलको विकासका लागि आवश्यक सहयोगको अपेक्षा गरेको समेत उल्लेख गर्नुभयो ।
स्वागत एवं सम्मानका लागि धन्यवाद व्यक्त गर्दै मन्त्री विश्वकर्माले खेलकुदको विकासका लागि संघीय सरकार तत्पर रहेको बताउनुभयो । हरेक खेलको विकासका लागि सरकारले आवश्यक नीति एवं बजेटको व्यवस्था गरेको भन्दै मन्त्री विश्वकर्माले नेपाललाई विश्वमा चिनाउने राम्रो माध्यम खेलकुद नै भएको उल्लेख गर्नुभयो ।

Advertisment