देश बचाउन सके आदिवासीको मुद्दा सम्बोधन हुन्छ ः देव गुरुङ

पोखरा, २४ साउन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दल प्रमुख सचेतक एवं पूर्व मन्त्री देवप्रसाद गुरुङले देश बचाउन सके मात्र आदिवासी जनजातिको मुद्दा सम्बोधन हुन सक्ने बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीले २४ औं विश्व आदिवासी दिवसका अवसरमा बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गुरुङले विदेशी हस्तक्षेपका कारण आदिवासी जनजातिको मुद्दा ओझेलमा परेको दाबी गर्नुभयो ।
‘विदेशी हस्तक्षेपका कारण आदिवासी जनजातिको मुद्दा ओझेलमा प¥यो’, उहाँले भन्नुभयो, ‘देश स्वाधीन नभएसम्म अधिकार प्राप्त गर्न सकिँदैन ।’ विदेशी शक्तिले देशभित्र विभिन्न नाममा झगडा गराएर अस्थिरता मच्चाउन खोजेको भन्दै नेता गुरुङले देशलाई एकताबद्ध गर्दै अधिकार प्राप्तिको आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो ।


‘अहिले केही अधिकार प्राप्त भएका छन्’, नेता गुरुङले भन्नुभयो, ‘प्राप्त उपलब्धी जोगाउँदै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष गर्दै जाने हो ।’ आफूहरूले अझै पनि आदिवासी जनजातिको मुद्दा नछोडेको भन्दै नेता गुरुङले फरक ढंगले संघर्ष गरिरहेको उल्लेख गर्नुभयो । ‘मूल प्रश्न देश बच्छ कि बच्दैन भन्ने छ, अहिले’, उहाँले भन्नुभयो, ‘देश बचाउन सक्यौं भने मात्र हामीले आदिवासी जनजातिले अधिकार प्राप्त गर्न सक्छौं ।’
अहिलेको संघीयता नाममात्रको भएपनि एकात्मक संरचना भन्दा प्रगतिशील भएको भन्दै गुरुङले आदिवासी जनजातिले गरेको आन्दोलनप्रति राज्यले सद्भाव राख्नुपर्ने बताउनुभयो । विश्वभर नै आदिवासीहरू लोप हुने दिशातर्फ गइरहेकाले नेपालमा पनि आदिवासी जनजातिहरूलाई सशक्त बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले प्रदेश नामाकरणमा आफूहरूले पहिचानलाई स्थापित गर्न बलबुताले भ्याएसम्म प्रयास गरेपनि सफल नभएको बताउनुभयो । ‘हामीले तमुवान–मगरात प्रदेश बनाउन खोजेकै हो, तर, सकेनौं’, मन्त्री थापामगरले भन्नुभयो, ‘गण्डकी प्रदेशमा मत जाहेर गर्नु हाम्रो बाध्यता रÞयो, आदिवासी जनजाति समुदायसँग म क्षमा चाहन्छु ।’


प्रदेश सांसद् मनबहादुर गुरुङले संविधान कुनै ढुंगाले लेखिएको चिज नभएको भन्दै जायज मुद्दाका आधारमा संशोधन गर्दैै जानुपर्ने बताउनुभयो । ‘आदिवासी जनजातिका माग सम्बोधन हुने दिन निश्चित रुपमा आउँछ’, उहाँले भन्नुभयो, ‘आज नभएपनि कुनै न कुनै दिन तमुवान–मगरात प्रदेश हुन्छ ।’ गण्डकी–तमुवान–मगरात प्रदेश हुनुपर्ने भनेर आफूले बोलेपनि बाध्यतावश गण्डकी प्रदेशमा मत जाहेर गर्नु परेको भन्दै गुरुङले आदिवासी जनजाति समुदायलाई आफ्नो माग र आन्दोलन जारी राख्न अनुरोध पनि गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले नेपाल विविधताले धनी देश भएको भन्दै एक दिन आदिवासी जनजातिका माग पूरा भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो । तमुवान–मगरात संघर्ष समितिकी अध्यक्ष एवं तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले गण्डकी प्रदेश नामाकरण गरिएकोप्रति खेद व्यक्त गर्दै तमुवान–मगरात प्रदेश नभएसम्म निरन्तर आन्दोलन गरिरहने उल्लेख गर्नुभयो ।


नेपाल तामाङ घेदुङका तमुवान–मगरात प्रदेश अध्यक्ष दीपक वाइबा तामाङले सबैले अपनत्व महसुस गर्ने खालको समृद्धि आवश्यक भएको भन्दै खोक्रो नाराले मात्रै समृद्धि सम्भव नभएको बताउनुभयो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, कास्कीकी अध्यक्ष राजकुमारी भुजेलले पहिचान र अधिकारलाई कहिल्यै पनि भुल्न नसकिने धारणा राख्नुभयो ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले आदिवासी जनजातिका चाडपर्वमा बिदा कटौती गरिनु आदिवासी जनजातिमाथिको ठूलो विभेद भएको भन्दै आदिवासी जनजातिको माग पूरा नभएसम्म निरन्तर लडिरहने उद्घोष गर्नुभयो । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, कास्कीका अध्यक्ष सुजनकुमार लामाले आदिवासी जनजातिको अधिकार र पहिचान प्राप्तिको लडाइँमा युवा, विद्यार्थीहरूले विशेष पहलकदमी दाबी गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर छन्त्याल र उपाध्यक्ष सु. हरिमान तामाङले स्वागत गर्नुभएको थियो ।
पोखरा–३, नदीपुरस्थित थकाली सेवा समितिमा भएको कार्यक्रम अघि पोखरा सभागृहबाट बृहत सांस्कृतिक झाँकीसहितको ¥यालीले महानगर परिक्रमा गरेको थियो । कार्यक्रममा कौरा, तामाङसेलो, कुमाल नाचलगायतका विभिन्न आदिवासी जनजातिका संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएका थिए ।

Advertisment