शर्मिला र सुरेन्द्रको ‘मनको धनी’ सार्वजनिक

पोखरा, २३ साउन
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले हाम्रो पहिचान भनेकै प्रदेशको कला, संस्कृति रहेको बताउनुभएको छ ।
मंगलबार पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा आयोजित लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङ र गायिका शर्मिला गुरुङको मौलिक तीज गीत ‘मनको धनी’ सार्वजनिकीकरण कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।


मन्त्री गुरुङले गण्डकी प्रदेशको संस्कृतिलाई रक्षा गर्नु हामी सबैको दायित्व रहेको आवश्यकता औंल्याउनुभयो । ‘यहाँ रहेका हरेक जातजातिका भिन्न संस्कृति होलान्’, उहाँले भन्नुभयो, ‘त्यसको सुरक्षा गर्नु हाम्रो आवश्यकता हो ।’ ‘पहिचान नै गुमायांै भने अस्तित्व रहँदैन’, मन्त्री गुरुङले भन्नुभयो, ‘गण्डकी प्रदेश एक साझा पहिचान हो । अझ भनौं यहाँ गुञ्जने सालैजो भाका, ठाडो भाकालगायतका लोकशैलीले यहाँको पहिचानलाई प्रष्टसँग बुझाउँछ ।’ यस्ता हाम्रा पहिचानलाई जोगाइ राख्न जातीय विभेदमा नगई सबै एक हुनुपर्ने उहाँको भनाइ थियो ।
प्रदेश सरकारले प्रदेशको प्रज्ञा प्रतिष्ठान निर्माण गर्ने तयारी गरिरहेको पनि मन्त्री गुरुङले बताउनुभयो । यसका लागि लबिङ भईरहेको उनको भनाई थियो । मौलिक तीजे भाका, वास्तविक तीजे भाका हराउँदै गएकाले यसको सुरक्षा र व्यावस्थापन पनि कलाकार स्वयंबाट हुनुपर्ने मन्त्री गुरुङको धारणा थियो । ‘कलाकारले गाएर मात्र हुँदैन, अब हाम्रा भाका संस्कृतिको रक्षा गर्न पुष्ताहस्तान्तरण पनि गर्नुपर्ने आवश्यकता रहेको छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद्द्वय कृष्ण थापा, राजीव पहारी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाही, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुली, प्रा. डा. दिलबहादुर क्षत्री, जिल्ला समन्वय समिति, कास्कीका प्रमुख बैनबहादुर क्षत्री, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
ओम फाउण्डेशन नेपाल, कास्कीले आयोजना गरेको उक्त म्युजिक भिडियो सार्वजनिकिकरण कार्यक्रममा गीतका सर्जकद्वय सुरेन्द्र गुरुङ र शर्मिला गुरुङलाई सम्मान गरिएको थियो । सम्मान पछि बोल्दै सुरेन्द्र गुरुङले आफ्नो तीज गीत मौलिक रहेको दाबी गर्नुभयो । ‘यसमा बरिलै लगायत तीजका ठेट शब्दहरूलाई पनि समावेश गरेका छांै’, उहाँले भन्नुभयो । गीतमा पहिलो पटक सुरेन्द्र गुरुङ र शर्मिला गुरुङ एकैसाथ अभिनय गरिरहेको पनि देख्न सकिन्छ । म्यूजिक भिडियो निर्देशक प्रकाश भट्टको निर्देशनमा बनेको म्यूजिक भिडियो विन्ध्यवासिनी म्यूजिक प्रालिबाट बजारमा आएको हो ।
फाउण्डेशनकी अध्यक्ष दिलु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य फाउण्डेशनकी बोर्ड सदस्य उर्मिला खड्काले गर्नुभएको थियो भने सञ्चालन प्रवक्ता सन्तोष बस्यालले गर्नुभएको थियो ।

Advertisment