विदेशी शक्तिको दबाबमा धर्मनिरपेक्षता लादियो ः सहमहामन्त्री गुरुङ

पोखरा, २३ साउन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), गण्डकी प्रदेश कार्यसमिति र नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा यही साउन २५ गते ‘हिन्दू राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण कार्यक्रम’ अन्तर्गत विशेष प्रवचन कार्यक्रम हुने भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय सह–महामन्त्री एवं गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले विदेशीको दबाबमा जबर्जस्ती धर्मनिरपेक्षता लादिएको आरोप लगाउनुभयो । ‘९४ प्रतिशत ॐकार परिवार भएको देशमा जबर्जस्ती धर्मनिरपेक्षता लाद्नु गलत हो’, नेता गुरुङले भन्नुभयो, ‘सनातन धर्म, संस्कृतिको रक्षाका लागि पनि हिन्दू राष्ट्र हुनु आवश्यक छ ।’
नेता गुरुङका अनुसार साउन २ गते राष्ट्रिय रुपमा सुरु गरिएको हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियान देशका ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहसम्म सञ्चालन गरिनेछ । पोखरामा आयोजना गर्न लागिएको पहिलो प्रदेशस्तरीय कार्यक्रम भएको जनाउँदै गुरुङले कार्यक्रममा ॐकार परिवार अन्तर्गतका धर्महरू हिन्दू, बौद्ध, किरात, जैन, शिख र इस्लाम धर्मका धर्मगुरुहरूले विशेष प्रवचन दिने जानकारी दिनुभयो ।
पोखराको बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा हुने कार्यक्रमको उद्घाटन राप्रपा अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले गर्नुहुनेछ भने त्यसअघि पोखराको नयाँबजारस्थित राप्रपाको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको नेता गुरुङले जानकारी दिनुभयो । नेता गुरुङ जनजागरण अभियान सम्पन्न भएपश्चात राप्रपाले आगामी फागुनबाट देशव्यापी सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिँदै हिन्दू राष्ट्र पुनस्र्थापना गरिछाड्ने समे जिकिर गर्नुभयो ।
नेपालमा पछिल्लो समय धर्म परिवर्तन गराउने समस्या बढ्दै गएको र हिन्दू सनातन धर्म, संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै उहाँले प्राचीन नेपालको पहिचान भनेकै हिन्दू राष्ट्र भएकाले हिन्दू राष्ट्र पुनस्र्थापना जरुरी रहेको बताउनुभयो । धर्मनिरपेक्षताका कारण देश धार्मिक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएको भन्दै नेता गुरुङले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र नै समाधान भएको जिकिर पनि गर्नुभयो ।

Advertisment