२४ औं विश्व आदिवासी दिवस मनाइँदै, पोखरामा हुने कार्यक्रमको पूर्व मन्त्री गुरुङले उद्घाटन गर्ने

पोखरा, २३ साउन
विश्वका आदिवासीहरूले यस वर्ष २४ औं विश्व आदिवासी दिवस मनाउँदै छन् । नेपालमा पनि नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा हरेक वर्ष अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाइँदै आएको छ ।
बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विश्व आदिवासी दिवस भव्यतापूर्वक मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीको आयोजनामा विश्व आदिवासी दिवस विशेष समारोहको आयोजना गरी मनाउन लागिएको हो । कार्यक्रमबारे महासंघले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासंघका जिल्ला अध्यक्ष धर्म गुरुङले विगतमा झैं आदिवासी जनजातिहरूको पहिचान स्थापित गर्ने गरी विश्व आदिवासी दिवस मनाउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार सभागृहचोकबाट सुरु हुने बृहत् सांस्कृतिक झाँकीसहितको ¥याली नयाँसडक, वीपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै नदीपुरस्थित थकाली सेवा समितिको सभाहलमा पुगी विशेष समारोहमा परिणत हुनेछ ।
कार्यक्रमको उद्घाटन नेपाल सरकारका पूर्व स्थानीय विकास एवं कानून मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले गर्ने कार्यक्रम रहेको महासंघका जिल्ला सचिव बमबहादुर छन्त्यालले जानकारी दिनुभयो । सचिव छन्त्यालका अनुसार कार्यक्रमलाई विभिन्न आदिवासी जनजाति नेता एवं अगुवाहरूले सम्बोधन गर्नेछन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन कार्यसमिति सदस्य सम्राट गुरुङले गर्नुभएको थियो ।

Advertisment