लाफा भिलेजमा समृद्धि नेपालको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, २० साउन
काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटस्थित निर्माणाधीन लाफा भिलेजमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लाफा ग्रुप लिमिटेडद्वारा निर्माणाधीन लाफा भिलेजमा समृद्धि नेपाल नामक संस्थाको आयोजनामा शनिबार एक दिने शिविर सम्पन्न भएको हो । सो शिविरको उद्घाटन गर्दै नागार्जुन नगरपालिकाका प्रमुख रमेशप्रसाद गौतमले स्वास्थ्य शिविरको आयोजना गरेर रामकोटका जनताका लागि स्वास्थ्य सेवा लिने अवसर जुराएको भन्दै आयोजकको प्रशंसा गर्नुभयो ।


सो अवसरमा चन्द्रागिरी नगरपालिका–१ का वडाध्यक्ष राजेन्द्र केसी, लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेमगर, समृद्धि नेपालका संरक्षक जितेन्द्र पुनमगर, सल्लाहकार चन्द्रसिंह अदै, लाफा ग्रुप लिमिटेडका बोर्ड सदस्य रक्षाबहादुर रैकामगर, सल्लाहकार एवं हाइभिजन कोलोनीका अध्यक्ष दिलबहादुर थापामगर, एकीकृत खानेपानी उपभोक्ता समितिकी कोषाध्यक्ष श्यामकला कुँवर, नौलो आशा महिला समाजकी अध्यक्ष लक्ष्मी राई, दहचोक खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिश्याम थापामगरलगायतले शिविरको सफलताको शुभकामना दिनुभएको थियो ।


समृद्धि नेपालकी अध्यक्ष जुना घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जीवन थापामगर र उपाध्यक्ष दानबहादुर थापामगरले स्वागत गर्नुभएको थियो । शिविरबाट रामकोट क्षेत्रका १ सय ५० जना भन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् ।

Advertisment