जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन दान

पोखरा, २० साउन
जन्मदिनका अवसरमा पोेखरा महानगरपालिका–१७, छोरेपाटनस्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरिएको छ । ओम फाउण्डेशन नेपाल, कास्कीको आयोजनामा फाउण्डेशनकी अध्यक्ष दिलु गुरुङकी सुपुत्री मनिषा गुरुङको जन्मदिनको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो ।


हाल, आफ्नो कर्मथलो हङकङ बनाएकी मनिषा गुरुङको जन्मदिनमा उनकी आमा दिलु गुरुङले मानवसेवा आश्रमका करिब ४५ जना असहाय वृद्धवृद्धा तथा बालबालिकालाई भोजन दान गर्नुभयो । आइतबार बिहान सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले जन्मदिनको शुभकामना दिँदै मानव सेवा आश्रमलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो ।
आश्रममा जन्मदिन, स्मृति लगायतका थुपै्र कार्यक्रम हुने गरेको भन्दै यसलाई सहज र सरल ढड्डले व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । फाउण्डेशन नेपालका सल्लाहकार समेत रहेका वडाध्यक्ष अधिकारीले आश्रमभित्रका समस्याका कुराहरू आफूले सुनेको बताउँदै त्यसको उचित व्यवस्थापन गर्नुपर्ने औंल्याउनुभयो । आश्रम आफ्नै वडामा भएको र आफू वडाध्यक्ष भएकोले यहाँभित्रका हरेक अप्ठेरा विषयहरूको समाधानका आफ्नो समर्थन रहने उल्लेख गर्नुभयो ।
कार्यत्रममा बोल्दै नेपाल पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्य एवं सामाजिक अभियन्ता सुष्मा पौडेलले नेपालीले नेपालीलाई सहयोग गर्ने भावनाको विकास हुनुपर्ने बताउनुभयो । भोकै जो छन उनीहरूलाई खुवाउनु भन्दा पुनित कार्य अरु हुन नसक्ने उहाँको भनाइ थियो । आश्रमलाई अहिले सबैको सहयोग चाहिएको भन्दै आश्रममा सहयोग गर्न उहाँले अपिल गर्नुभयो । मानव सेवा आश्रमका अभियन्ता राजन सापकोटाले आश्रमको सुरुवात सुरुमा ५ जना असहायहरूलाई सहारा प्रदान गरि हेटौंडाबाट भएको बताउनुभयो । अहिले आएर यो सेवा विस्तार भएर विभिन्न १० जिल्ला गरि १५ सय जनालाई सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो ।
जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराएर मनको आनन्द मिलेको फाउण्डेशनकी अध्यक्ष दिलु गुरुङले भन्नुभयो । छोरीको आग्रहमानै आफुले मानव सेवा आश्रम रोजेको उहाँले बताउनुभयो । फाउण्डेशनका महासचिव सुरेन्द्र गुरुङले स्वागत मनतव्य राखेको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकीका अध्यक्ष शंकर ‘विरही’ गुरुङले पनि बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन फाउण्डेशनका प्रवक्ता सन्तोष बस्यालले गर्नुभएको थियो ।

Advertisment