‘नेपालको संविधानले आदिवासी जनजातिको जेनोसाइट ग¥यो’

पोखरा, १९ साउन
आदिवासी जनजाति युवा महासंघ, नेपाल, संघीय परिषद्ले २४ औं विश्व आदिवासी दिवस तथा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पोखरामा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघको आदिवासीसम्बन्धी स्थायी मञ्चका उपाध्यक्ष फूलमान चौधरीले नेपाल सरकारले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र र अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ अनुमोदन गरेको ११ वर्ष भएपनि कार्यान्वयनमा कुनै चासो नदेखाएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
अहिलेसम्म पनि अन्तर्राष्ट्रिय महासन्धि र घोषणापत्र कार्यान्वयन गर्न कुनै चासो नदेखाउनु नेपाल सरकारको नेतृत्व गरेका शासकको नश्लवादी चिन्तन रहेको भन्दै चौधरीले निरन्तरता र कार्यान्वयनका लागि आदिवासी जनजाति युवाहरू जुर्मुराउने बेला आएको बताउनुभयो ।
‘संविधानमा आदिवासी जनजातिहरूको अधिकार तथा पहिचानसहितको प्रदेश नामाकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले आदिवासी जनजातिलाई नेपालका शासकहरूले पटक पटक झुक्याएको भन्दै आक्रोश व्यक्त गरे ।
‘संविधानमा आदिवासी जनजातिहरूको अधिकार’सम्बन्धी आफ्नो प्रस्तुती राख्दै महासंघका सल्लाहकार अधिवक्ता शंकर लिम्बूले नेपालको वर्तमान संविधानले आदिवासी जनजातिहरूको जेनोसाइट गरेको आरोप लगाउनुभयो । ‘नेपालको संविधानले आदिवासी जनजातिहरूको जेनोसाइट गरेको छ’, अधिवक्ता लिम्बूले भन्नुभयो, ‘आदिवासी जनजातिलाई नामेट पार्ने र अस्तित्व संकटमा पार्ने षड्यन्त्रका साथ अहिलेको संविधान जारी भएको छ ।’
आदिवासी जनजातिहरूले बेलैमा सचेत नहुने हो भने नेपालबाट आदिवासी जनजातिहरूको पहिचान नामेट गराउन नेपाली शासकहरू लागिपरेको भन्दै लिम्बूले आदिवासी जनजातिहरूको एकताबद्ध र सशक्त आन्दोलनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सशक्त आन्दोलनविना आदिवासी जनजातिहरूले अधिकार प्राप्त गर्न नसक्ने उहाँको भनाइ थियो ।
पहिचानसहितको प्रदेश नामाकरणसम्बन्धी प्रस्तुती राख्दै तमुवान–मगरात संघर्ष समितिका प्रवक्ता हुमबहादुर गुरुङले पहिचानका आधारमा प्रदेश नामाकरण गराउन सशक्त आन्दोलनको आवश्यकता रहेको बताउनुभयो । अधिकार स्थापित गराउन सबै युवाहरू अभियन्ता बनेर अगाडि आउनुपर्ने बताउँदै गुरुङले संघीयता मास्न भइरहेको षड्यन्त्र चिर्न सचेत हुनुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजातिको आन्दोलन पहिचान प्राप्तिको आन्दोलन मात्र नभइ मानवअधिकारका लागि भएको आन्दोलन भएको उहाँको भनाइ थियो ।
आदिवासी जनजाति युवा महासंघ, नेपालका अध्यक्ष जीएस गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव हेमन्त राई र वरिष्ठ उपाध्यक्ष जुनु पुनमगरले स्वागत गर्नुभएको थियो ।

Advertisment