जापानमा कार्यरत नेपालीद्वारा क्यान्सरपीडित राममायालाई मिलन फाउण्डेशनमार्फत् सहयोग

डिमुवा (पर्वत), १० साउन


पर्वतको मोदी गाउँपालिका–६, तिलाहारनिवासी क्यान्सरपीडित ४० वर्षीया राममाया रेग्मीलाई जापानमा कार्यरत नेपालीहरूले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
हाल जापानमा कार्यरत मोदी गाउँपालिका–५, बाजुङका हिमाल केसीको पहलमा संकलित रकम क्यान्सरपीडित रेग्मीलाई डिमुवास्थित उहाँकै निवासमा मिलन फाउण्डेशन नेपालमार्फत् हस्तान्तरण गरिएको हो । बिहीबार फाउण्डेशनका बोर्ड सदस्य एवं पत्रकार रूद्रबहादुर श्रीसले जापानी येन ३२ हजार ५२ अर्थात् ३१ हजार नेपाली रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
मोदी गाउँपालिका–५, बाजुङका समाजसेवी मनबहादुर पौडेल, हिमलाल पौडेल र कृष्ण कुँवरको रोहवरमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो । क्यान्सरपीडित राममायाका श्रीमान् क्षेत्रबहादुर रेग्मीका अनुसार आर्थिक अभावमा उपचारमा समस्या भएको छ ।
जापानमा कार्यरत नेपालीहरूले आफूलाई उपचारका लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै राममायाले सबैको कामना र सहयोगले आफू छिटै निको हुने विश्वास व्यक्त गर्नुभयो । सहयोग हस्तान्तरण गर्दै फाउण्डेशनका बोर्ड सदस्य एवं पत्रकार श्रीसले मिलन फाउण्डेशन नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष क्रियाशील रहेको भन्दै दीनदुःखी र गरीबका लागि आवश्यकता अनुसार सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । साथै, उहाँले जापानमा कार्यरत नेपाली युवाहरूलाई रकम सहयोग गरी फाउण्डेशनलाई हस्तान्तरणको अवसर दिएकोमा धन्यवाद व्यक्त समेत गर्नुभयो ।
क्यान्सरपीडित राममायाको उपचार सहयोगार्थ हिमाल केसीको पहलमा जापानको तोचिगीमा बसोबास गर्ने नेपालीहरू हिमाल केसी (पर्वत) ५ हजार येन, महेश पुन (पोखरा) २ हजार येन, मनोज गुरुङ (पोखरा) २ हजार येन, मणिराज तामाङ (लमजुङ) १ हजार येन, आनन्द गुरुङ (पोखरा) १ हजार येन, लालप्रसाद गुरुङ (पोखरा) २ हजार येन, सुजन पुन (पोखरा) २ हजार येन, भविन पुन (पोखरा) २ हजार ५ सय येन, शमशेर थापा (पोखरा) २ हजार येन, देवनारायण पुन (पोखरा) २ हजार, गोविन्द खड्का (म्याग्दी) १ हजार, श्याम घले (काठमाडौं) १ हजार, उत्तम गुरुङ (पोखरा) १ हजार, भुवन कार्की (झापा) १ हजार, लाफा स्पोर्ट बार, तोचिगी, जापान ३ हजार ५ सय, सविन पोखरेल (काठमाडौं) १ हजार, नारायण बुर्जामगर (काठमाडौं) १ हजार र कृष्ण गैरे (बुटवल) १ हजार ५२ गरी जम्मा ३२ हजार ५२ जापानी येन रकम संकलित भएको हो ।

Advertisment