मगर महिलाको दुई दिने महिला सशक्तिकरण तथा उद्घोषण तालिम सम्पन्न

रूद्र श्रीसमगर
पोखरा, ४ साउन
नेपाल मगर महिला संघ कास्कीको आयोजनामा बिहीबारदेखि सुरु भएको दुई दिने महिला सशक्तिकरण तथा उद्घोषण तालिमको शुक्रबार समापन गरिएको छ ।
समापनका अवसरमा बोल्दै संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले मगर महिलाहरू पनि अब स्वावलम्बी बन्ने बेला आएको बताउनुभयो । मगर महिलाहरू चुलोचौकोमा मात्रै सीमित हुन नहुने भन्दै थापामगरले व्यवसायिक बन्न सके महिलाले कसैमाथि भर पर्नु नपर्ने बताउनुभयो ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर महिलाहरूलाई सक्षम बनाउन तालिमले महŒवपूर्ण भूमिका खेल्ने भन्दै व्यक्तित्व र नेतृत्व विकासका लागि यस्ता तालिमले निरन्तरता पाउनुपर्ने भनाइ राख्नुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै अध्यक्ष रानामगरले मगर महिला संघ कास्कीको सक्रियताको प्रशंसा गर्नुभयो ।
नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरले उद्घोषण गर्दा प्राविधिक कुराको ख्याल गर्नुपर्नेमा जोड दिँदै उद्घोषण गर्नु रुचि र आफ्नो कलामा भर पर्ने बताउनुभयो । निरन्तरको अभ्यासले मात्र सफलता पाउन सकिने बताउँदै अध्यक्ष हितानमगरले तालिममा सिकेका कुरालाई सधैं ख्याल गर्न आग्रह गर्नुभयो । सो अवसरमा प्रशिक्षार्थीका तर्फबाट बोल्दै प्रशिक्षार्थीद्वय पुष्पा पुनमगर र मुन्नु थापामगरले दुई दिनको छोटो अवधिको तालिम भएपनि धेरै कुरा सिक्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा मगर महिला संघ कास्कीले यसअघि सञ्चालन गरेको एक हप्ते चुरा, पोते तथा क्रिष्टलको माला बनाउने तालिमका सहभागी र उद्घोषण तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । त्यस्तै, चुरा, पोते बनाउने तालिममा प्रथम हुने पुष्पा पुनमगर, द्वितीय कीर्तिमा थापामगर र तृतीय शान्ति थापामगर, उद्घोषण तालिममा प्रथम हुने यमसरी थापामगर, द्वितीय मुन्नु थापामगर र तृतीय सुनिता थापामगरलाई पुरस्कार प्रदान गरिएको थियो ।
नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी थापामगर र उपाध्यक्ष चन्द्रा थापामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment