जनआन्दोलनकी घाइते गुरुङलाई इजरायलबाट आर्थिक सहयोग

पोखरा, १ साउन
१३ वर्ष अघि भएको ऐतिहासिक ०६२/६३ को जनआन्दोलनमा सुरक्षाकर्मीले प्रहार गरेको गोलीबाट छर्रा लागी घाइते भएकी इलाम घर भइ हाल, पोखरा लेखनाथ–९, नयाँबजार बस्दै आएकी ७८ वर्षीया वृद्धा लीला गुरुङलाई इजरायलमा रहेका नेपालीहरूले सहयोग गरेका छन् ।
पोखराको चिप्लेढुङ्गामा तरकारी बेच्दै आउनुभएकी गुरुङलाई जनआन्दोलनका बेला सुरक्षाकर्मीले प्रहार गरेको गोलीको छर्रा खुट्टामा लागेको थियो । घाइते भएपछि नयाँबजारमा एक्लै बस्दै आएकी गुरुङले आफ्नो सानो तिनो तरकारी पसल पनि छोड्नुप¥यो ।
आर्थिक अभावमा खुट्टाको राम्रोसँग उपचार गर्न नसकेकी लीला गुरुङलाई इजरायलमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका हुन् । गुरुङका बारेमा सञ्चारमाध्यममा समाचार एवं कार्यक्रम प्रसारण र प्रकाशन भएपछि सहयोग आउन थालेको हो । विभिन्न सहयोगीहरूबाट प्राप्त सहयोगले हाल खुट्टामा रहेको गोलीका छर्रा शल्यक्रिया गरी चिकित्सकले निकालिदिएका थिए ।
सोही क्रममा स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नं. ७, वलेउ स्थायी घर भई रोजगारीको शिलशिलामा हाल इजरायलमा रहेका फिष्टेल न्यूज डट कमका सञ्चालक दीपेन्द्र गुरुङको पहलमा त्यहाँ कार्यरत नेपालीहरुबाट संकलित ४५ हजार ३ सय ४५ रुपैयाँ सहयोग मंगलबार उहाँकै डेरामा पुगी फिष्टेलन्यूज डटकमका पोखरा प्रतिनिधि लोकेन गुरुङले सो रकम मंगलबार हस्तान्तरण गर्नुभएको हो ।
इजरायलमा कार्यरत मञ्जु गुरुङ, नानीमाया तामाङ, विष्णु गुरुङ, प्रिया गुरुङ, मारले गुरुङ, जिनि गुरुङ, अर्चना गुरुङ, विष्णु पुन, पेमा शेर्पा, जिनिता गुरुङ, लिला थापा, रिचा गुरुङ, सनम थापा, देवकुमारी मगर, सुनिता गुरुङ, अमु गुरुङ, लक्ष्मी गुरुङ, काली पुर्जामगर, तेजेन्द्र गुरुङ, जुनु राई र फिष्टेलन्यूज डट कम परिवारलगायतले उक्त आर्थिक सहयोग गरेका थिए ।
सो अवसरमा सहयोग हस्तान्तरण गर्दै लोकेन गुरुङले पीडित घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । विगत ३५ वर्षदेखि पोखरामा बस्दै आएकी लीला गुरुङले जनआन्दोलनमा गोली लागेर घाइते भएपछि कुनै पनि काम गर्न नसकेको बताउनुभयो । चरक मेमोरियल हस्पिटलमा उपचार भइरहेको र विभिन्न सञ्चारमाध्यममा आएका समाचारबाट थाहा पाएर हालसम्म १२ लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको गुरुङका भाइ महेन्द्र गुरुङले जानकारी दिनुभयो ।

Advertisment