‘दिगो पर्यटन’का निम्ति मगर पर्यटन समाजको अन्तरक्रिया

काठमाडौं, १ साउन
पयर्टन क्षेत्रका विज्ञ र अगुवाहरूले व्यवसायभित्र अराजकता मौलाएको बताएका छन् । नेपाल मगर पर्यटन समाजले शनिबार राजाधानीमा अयोजना गरेको ‘दिगो पर्यटन र यसका चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश पक्ताले पर्यटन व्यवसायमा विद्यमान अराजकता र अनियमितताको अन्त्य गर्दै अघि बढेमात्र पर्यटक आवागमनलाई बढाउन सकिने बताए ।
अन्तरक्रिया कार्यक्रमकी प्रमुख अतिथि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री थममाया थापामगरले व्यवसायका अन्तरिक कमजोरी सुधार्न व्यवसायी तयार रहनुपर्ने भन्दै पर्यटनको विकासका निम्ति सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले पर्यटनको विकासमा सरकारले निजी क्षेत्रसँग मिलेरै काम गर्ने स्पष्ट पार्नुभयो ।


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सूर्य थापाले कमजोरी गर्नेलाई कारबाहीको दायरामा ल्याएर सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गल्ती नगर्नेहरु कारबाहीमा पर्ने र दुःख पाउने भन्ने हुन सक्दैन तर गल्ती गर्नेले छुट पाउनु हुन्न ।’
उहाँले पर्यटकसँग बुढानिलकण्ठ घुमाउने भनेर पैसा लिने र बाइसधाराको बुढानिलकण्ठ देखाएर फर्काउने गरेको समेत पाइएको भन्दै त्यस्ता व्यवसायीलाई कारबाही गर्नुको विकल्प नभएको बताउनुभयो । नेता थापाले पर्यटन रणनीति अनुसार पर्यटन बढाउने उद्देश्य भए पनि व्यवसायीका तर्फबाट भएको व्यवहारमा भएका कमजोरीले त्यस्तो सफलता नमिलेको बताउनुभयो । उहाँले पर्यटनका पूर्वाधार विकास गर्न आवश्यक रहेको बताउँदै पर्यटन व्यवसायीले व्यालेन्स सिट माइनसमा नदेखाई सरकारलाई कर तिर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले पर्यटन व्यसायमा अराजकता रहेको स्वीकार गर्नुभयो । उहाँले व्यवसायीमा संयमताको जरुरी रहेकोमा जोड दिनुभयो । अध्यक्ष दाहालले नेपालमा आउने पर्यटकहरुलाई राम्रो हिसाबले हाम्रा सम्पदा समेत देखाउन नसकिएको बताए । उनले राज्यको कारण पनि पर्यटनमा अराजक बढेको भन्दै गल्ती नगर्ने एजेन्सीलाई पनि फेक रेस्क्युको कारबाहीको नाममा दुःख दिन अचम्म लागेको बताउनुभयो । उहाँले दिगो पर्यटनका लागि सरकारले सेवा र सुविधा दिएमा टानले देशको पर्यटन विकासका लागि गर्नुपर्ने जस्तो सुकै सहयोग पनि गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर पर्यटन समाजका प्रथम उपाध्यक्ष राजकुमार थापामगरले नेपाल गाउँले भरिएको देश हुनाले गाउँ विकासको लागि पर्यटकीय गतिविधि गाउँ केन्द्रित गर्न लागेको जानकारी दिनुभयो । उहाँले सबै खाले पर्यटनसँग सम्बन्धित संस्थाले उठाएका माग र दिएका सुझाव कार्यान्वयन हुनुपर्ने भन्दै दिगो पर्यटनको विकासका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा अन्य सहभागीले नेपालको पर्यटन व्यवसायमा पर्यटन व्यवसायीकै अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । केहीले पर्यटन प्रद्र्धनका नाममा खानपिनमा रमाउने खालकामात्रै व्यवसायी रहेको आरोप लगाउनुभयो । उनीहरुले व्यवसायलाई अनुशासित र मर्यादित बनाउनका लागि व्यवसायी आफैँ जिम्मेवार बन्न नसकेको बताउनुभयो ।
कार्यक्रममा टानका प्रथम उपाध्यक्ष एवम् नेपाल मगर पर्यटन समाजका महासचिव जीवन थापामगरले सरकारले नयाँ कानुनहरू बनाउने चरणमा रहेकाले अब बन्ने कानून पर्यटनमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले पर्यटनको विकास र विस्तारका लागि एक द्वार नीति आवश्यक भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । व्यवसायभित्रका कमजोरी सुधार गर्न व्यवसायीको समेत भूमिका महत्वपूर्ण रहने भएकाले सबैले आफ्नो ठाउँबाट दिगो पर्यटनका लागि साेंच्ने हो भने सरकारले लिएको ५० लाख पर्यटक भिœयाउने लक्ष्य प्राप्त गर्न त्यति कठिन नहुने बताउनुभयो ।

Advertisment