बौद्ध प्रहरीद्वारा ठूलो परिमाणमा अवैध मदिरा तथा कच्चा पदार्थ नष्ट

रुद्र श्रीसमगर
काठमाडौं, २३ असार
महानगरीय प्रहरी वृत्त, बौद्धले काठमाडौं महानगरपालिका वडा नं. ६, नयाँबस्ती, नागेश्वर गल्ली अन्तर्गतका विभिन्न स्थानहरूमा उत्पादित ठूलो परिमाणका अवैध मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ ।


अवैध मदिरा उत्पादन गरी बिक्री वितरण तथा सञ्चय गर्ने गरेको भन्ने सूचनाका आधारमा बौद्ध प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईको कमाण्डमा शनिबार खटिएको टोलीले अवैध तयारी मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको हो ।


सो टोलीले झण्डै १४ हजार लिटर तयारी मदिरा, २७ हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिइ नष्ट गरेको थियो । त्यस्तै, प्लाष्टिक र टिनको ड्रम ९६ थान, तामाको सोली २ थान, सिल्भरको बाटा र फ्वासी एक/एक थान प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि पनि सोही क्षेत्रबाट १९ हजार लिटर तयारी मदिरा र ६० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिइ नष्ट गरिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।

Advertisment