‘कृषिको देश भन्न नि आज हामीलाई लाजै भो’

पोखरा, १६ असार
शनिबार पोखरामा फरक खालको साहित्यिक माहौल बन्यो । अझ त्यसमा पनि साहित्यिक र सांगीतिक सम्मिश्रणले कार्यक्रमको रौनक बढेको भान हुन्थ्यो ।
पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन संकायको भवनमा भएको ‘सिर्जना र असार’ विशेष साहित्यिक कार्यक्रममा स्रष्टा एवं कलाकारहरूले फरक फरक प्रस्तुती राखे ।
पछिल्लो पुस्ताले ‘सिर्जना र असार’का बारेमा त्यति धेरै बुझ्न पनि पाएको छैन । २०५६ सालबाट सुरु भएको ‘सिर्जना र असार’को ११ औं शृंखला पुगेर रोकियो । झण्डै दशक लामो समयपछि १२ औं शृंखलाका रुपमा शनिबार भएको ‘सिर्जना र असार’ विशेष साहित्यिक कार्यक्रममा थुप्रै पोखराका गनिने प्रगतिशील साहित्यकार, लेखक एवं कलाकारहरू एकै ठाउँ भेला भए ।
कार्यक्रममा संगम सांस्कृतिक मञ्च, नेपालका कलाकारहरूले सांगीतिक प्रस्तुती राखे । उनीहरूले गीतमार्फत् राजनैतिक व्यंग्यसँगै संघर्षको आÞवान गर्दै असार महिना र किसानहरूको दुःखको वर्णन समेत गरे । कृषिप्रधान देश भनिएपनि वास्तविकतामा त्यसो हुन नसकेको भन्दै उनीहरूले गीत गाए, ‘कृषिको देश भन्न नि आज हामीलाई लाजै भो ।’
वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले साहित्यविनाको जीवन खल्लो हुने बताउनुभयो । ‘साहित्यविनाको जीवन खल्लो हुन्छ’, उहाँले भन्नुभयो, ‘साहित्यले समाजमा भएको विकृति र विसंगतिलाई हटाउन सहयोग पु¥याउनुपर्छ ।’ कृषि र पर्यटन आर्थिक समृद्धिको मुख्य आधार भएको उहाँको भनाइ थियो । सो अवसरमा पृथ्वीनारायण क्याम्पस प्राड्डणमा पाँच वटा चाँप र एउटा शमीको बिरुवा रोपिएको थियो ।
कार्यक्रमका विशेष अतिथि समालोचक प्रा.डा. रविलाल अधिकारीले यस्ता कार्यक्रमलाई व्यापकता र निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा कार्यक्रमको आयोजना ग्रामीण क्षेत्र त्यसमा पनि खेतबारीमा गर्दा महŒव अझ बढ्ने सुझाव समेत दिनुभयो । कार्यक्रमका समीक्षक प्रा.डा. यदुनन्दन उपाध्यायले स्रष्टा र कलाकारहरू किसानको कर्मसँग जोडिनुपर्ने बताउँदै अचेल साहित्यमा कृत्रिमता हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
प्रगतिशील लेखक संघ नेपालका उपाध्यक्ष डा. कृष्णराज अधिकारीले प्रगतिवादी स्रष्टाहरूको रचनामा पनि आजभोली यथास्थितिवादी चिन्तन र परपम्परावादी सोंच हावी हुन थालेको भन्दै वैचारिक रुपान्तरणको आवश्यकता औंल्याउनुभयो । ‘सिर्जना र असार’का परिकल्पनाकार धनप्रसाद तामाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रकृति, संस्कृति र प्रविधिलाई मुख्य ध्यानमा राखेर कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो ।
‘हाम्रो प्रकृति मरुभूमिकरण भयो, संस्कृति उपभोक्तावादी बन्दै गयो र प्रविधि अति रासायनिकीकरण भयो’, तामाङले भन्नुभयो, ‘स्थानीय वैशिष्ट्यता, सांस्कृतिक मौलिकता र जैविक विलक्षणता यसको समाधान हो, आजको आवश्यकता हो ।’ हाम्रो सौन्दर्यशास्त्रको मुख्य विज्ञान नै असार भएको भन्दै तामाङले चिन्तनको न्यूक्लियस असार बन्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा भीम रानाभाट, नारायण मरासिनी, छविलाल आचार्य, शिवबहादुर बराल, नारायण बाँस्तोला, गीता तिवारी, कल्याण पन्त, लक्ष्मी पुनमगर, संगीता गौतम, लीला पण्डित केसी, त्रिवेणी, निर्मला न्यौपाने, सूर्य खड्का ‘बिखर्ची’, सर्वज्ञ श्रेष्ठ, हनिफ मियाँ, विवेक देवकोटा, सुवास पौडेल र स्वतिक अपारले साहित्यिक रचना तथा रामभक्त जोजिजू, श्रीमान थुलुङ, पद्मराज ढकाल, डीबी तामाङ, रोशन तामाङ, सुशील गुरुङ, प्रदीप मल्ल र ओमविक्रम ओझाले सांगीतिक प्रस्तुती राख्नुभएको थियो ।
‘सिर्जना र असार’ साहित्यिक समूह, पोखराका अध्यक्ष स्ट्रगल रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्य शृंखला, पोखराका सचिव लोकनाथ पुडासैनी र स्वागत पूर्ण लामाले गर्नुभएको थियो ।

Advertisment