बाढीपहिरोपीडितलाई राहत उपलब्ध गराउन बागलुङ समाज पोखराद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

रूद्र श्रीसमगर
पोखरा, १३ असार
सोमबार राति परेको अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरोका कारण पुगेको मानवीय तथा भौतिक क्षतिप्रति बागलुङ समाज पोखराले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
समाजका अध्यक्ष कुलचन्द्र शर्माको नेतृत्वमा गएको टोलीले बागलुङका विभिन्न भागमा भएका क्षतिको विवरणसहित प्रदेश नं. ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’लाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा बाढीपहिरो तथा चट्याङलगायतका प्राकृतिक प्रकोप पीडितको उद्दार तथा राहतका लागि प्रदेश सरकारसँग माग गरिएको छ ।
सो अवसरमा मन्त्री अजितले अविरल वर्षाका कारण विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिले आफू दुःखी भएको बताउँदै चाँडो भन्दा चाँडो उद्दार तथा राहतका लागि आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको जानकारी गराउनुभयो ।
सोमबार राती परेको अविरल वर्षाका कारण बागलुङको बरेङ गाउँपालिका वडा नं. १ र २ मा व्यापक क्षति भएको थियो । जसमा वडा नं. १ को एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । त्यस्तै, चट्याङ लागेर जैमिनी नगरपालिका–१०, छिस्तीमा एक जनाको मृत्यु भएको थियो । बरेङ गाउँपालिका, जैमिनी नगरपालिका र गलकोट नगरपालिकामा अविरल वर्षाले ठूलो मात्रामा भौतिक क्षति समेत गराएको छ ।

Advertisment