पर्वत पाखापानी समाज, पोखराको अध्यक्षमा रेग्मी

रूद्र श्रीसमगर
पोखरा, १० असार
पर्वत जिल्लाको पाखापानीबाट पोखरा आइ स्थायी र अस्थायी रुपमा बसोबास गर्ने पाखापानीबासीहरूको भेलाले पर्वत पाखापानी समाज, पोखराको पुनर्गठन गरेको छ ।
पुनर्गठित समाजको अध्यक्षमा लालबहादुर रेग्मी चयन हुनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा ध्रुव केसी, सचिवमा दीपक पौडेल, सह–सचिवमा विश्वास क्षत्री, कोषाध्यक्षमा किरण गुरुङ र सह–कोषाध्यक्षमा मीना शाही चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा भगवती पौडेल भुसाल, राजु भण्डारी र कृष्णकुमारी क्षत्री चयन हुनुभएको छ । समाजका अध्यक्ष क्या. शेरबहादुर खत्रीको अध्यक्षतामा भएको भेलामा कोषाध्यक्ष सु. सुरेन्द्रबहादुर केसीले आय व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो । नयाँ कार्यसमिति चयनका लागि अधिवक्ता डीपी अधिकारीको संयोजकत्व मा केशबहादुर केसी, क्या. रेखबहादुर गुरुङ, अमबहादुर रेग्मी सदस्य रहेको अध्यक्ष मण्डल बनाइएको थियो । नवनिर्वाचित अध्यक्ष रेग्मीले आगामी योजनाहरू सुनाउँदै नवनिर्वाचित समितिलाई सबैको साथ र सहयोग अपरिहार्य भएको बताउनुभयो ।
नवनिर्वाचित उपाध्यक्ष ध्रुव केसीले समाजको आवश्यकता, औचित्य र योजनाबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै, अधिवक्ता डीपी अधिकारीले समाजले पोखरामा बस्नेलाई मात्रै नभएर आफ्नो गाउँको मुद्दाहरूलाई पनि समेट्नुपर्ने अनि पोखरा र पाखापानीबीच पुलको काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै, समाजका सदस्य एवं क्षत्री समाज नेपालका कोषाध्यक्ष केशबहादुर केसीले समाजलाई अझै क्रियाशील बनाउनका लागि बिस्तारै सहकारी सञ्चालनको तयारी गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा समाजसेवी रामप्रसाद सुवेदीले अब पाखापानी समाजलाई विस्तार गर्दै सिंगो महाशिला गाउँपालिकालाई समेट्नु पर्ने बताउनुभयो । त्यस्तै, लाम्तुन तमु समाजका अध्यक्ष क्या. रेखबहादुर गुरुङले समाजले आपत विपत परेकोलाई सहयोग गर्न प्राथमिकता दिनुपर्ने, धनी गरिब सानो ठूलो नभनी सबैलाई समेटेर लैजाने आशा व्यक्त गर्नुभएको थियो, कार्यक्रमको सञ्चालन सचिव कमलबहादुर रेग्मीले गर्नुभएको थियो ।

Advertisment