सगरमाथा टोल विकास संस्थाद्वारा तीन दिने उद्घोषण तालिम सम्पन्न

रूद्र श्रीसमगर
पोखरा, ९ असार
कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१४ स्थित सगरमाथा टोल विकास संस्थाद्वारा आयोजित तीन दिने महिला, आदिवासी जनजाति उत्थानका निम्ति क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ को सहयोगमा यही असार ४, ५ र ६ गतेसम्म सञ्चालित तालिममा गृह व्यवस्थापनसम्बन्धी महिला मानव अधिकार रक्षक सञ्जाल, कास्कीकी उपाध्यक्ष तारामाया थापा, कार्यालय व्यवस्थापनसम्बन्धी पोखरा लेखनाथ महानगरपालिकाकी वित्त अधिकृत सविता ढुंगाना, उद्घोषणसम्बन्धी नेपाल प्लस अनलाइन रेडियो तथा टेलिभिजनकी सञ्चालिका नरमाया रसाइली र भाषणकला पाठशालाकी संयोजक गंगा मरासिनी बराइलीले प्रशिक्षण दिनुभएको थियो ।


सोही अवसरमा आर्थिक वर्ष ०७४÷०७५ को वडास्तरीय योजना अन्तर्गत नवनिर्मित २ सय मिटर ढलान बाटोको उद्घाटन समेत गरिएको थियो । तालिमको समापनका अवसरमा बोल्दै वडाध्यक्ष प्रेमबहादुर कार्कीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिमले मानिसलाई ज्ञान र सीप दिने उल्लेख गर्दै वडाध्यक्ष कार्कीले वडाको योजना अनुसार विभिन्न टोलमा क्षमता विकास तालिमहरू सञ्चालन गरिएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा वडा सदस्य जितेन्द्रजंग थापा, सगरमाथा टोल विकास संस्थाका विज्ञ सल्लाहकार प्रहरी नायब निरीक्षक होतबहादुर रोक्का, प्रगति टोल विकास संस्थाका अध्यक्ष डेलबहादुर गुरुङ, सगरमाथा टोल आमा समूहकी अध्यक्ष जुना नराल क्षत्री, प्रशिक्षार्थीहरूको तर्फबाट शीतलमार्ग टोल विकास संस्थाकी सदस्य कविता कार्कीलगायतले बोल्नुभएको थियो । तालिममा ५१ जना महिलाहरूको सहभागिता रहेको थियो ।
सगरमाथा टोल विकास संस्थाका अध्यक्ष रुपबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद बरालले गर्नुभएको थियो भने कार्यसमिति सदस्य सरिता बाँस्तोलाले तालिमको संयोजन गर्नुभएको थियो ।

Advertisment