पहिलो कौह्रा संरक्षण पत्रकारिता पुरस्कार नवलपुरकी कमला रानालाई

रूद्र श्रीसमगर
पोखरा, २४ जेठ
राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित पहिलो ‘राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार–२०७५’बाट नवलपुरकी पत्रकार कमला रानामगरलाई पुरस्कृत गरिने भएको छ ।
नेपाल मगर पत्रकार संघ कास्की शाखाको बिहीबार बिहान बसेको बैठकले यसअघि गठित प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई अनुमोदन गरेको हो । संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिमा समितिका तर्फबाट हर्क आलेमगर, तारामाया थापामगर, नन्दु थापामगर, संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, जिल्ला शाखा अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर सदस्य रहनुभएको थियो ।
संघकी केन्द्रीय सदस्य एवं रेडियो मध्यविन्दुकी समाचार प्रमुख रानामगरलाई यही जेठ ३० गते आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने जिल्ला अध्यक्ष हितानमगरले जानकारी दिनुभयो । अध्यक्ष हितानमगरका अनुसार पत्रकार रानामगरलाई पुरस्कार राशि ५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित पुरस्कृत गरिनेछ ।


कौह्रा संरक्षण समितिको स्थापना दिवस खासमा जेठ १५ गते भएपनि विशेष कारणवश यसपटक ढिलो भएको र आगामी वर्षदेखि जेठ १५ गणतन्त्र दिवसकै दिन पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिनुभयो । यो वर्ष समितिको तेस्रो स्थापना दिवसको सन्दर्भ पारेर पुरस्कार दिन लागिएको हो । मगरात क्षेत्रको लोकप्रिय नाच मानिने कौह्राको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष यो पुरस्कारबाट पुरस्कृत गर्ने गरी पुरस्कार अक्षयकोष स्थापना गर्ने तयारी समेत भइरहेको आलेमगरले बताउनुभयो ।

Advertisment