मन्त्रीद्वय पुन र थापालाई पुन मगर समाजको सम्मान

रूद्र श्रीसमगर
पोखरा, १६ जेठ
नेपाल पुन मगर समाज, केन्द्रीय समितिले प्रदेश नं. ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनमगर र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
बुधबार पोखरामा आयोजित कार्यक्रममा मन्त्रीद्वय पुनमगर र थापामगरलाई समाजले सम्मान गरेको हो । सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले प्रदेश नं. ४ को विकास र समृद्धिका लागि आफूहरू लागिपरेको बताउनुभयो । आफ्नो मन्त्रालय अन्तर्गत थुप्रै विभागहरू रहेको भन्दै मन्त्री पुनमगरले सबै समुदायको विकास र उन्नतिमा प्रदेश सरकारले विशेष चासो लिएको उल्लेख गर्नुभयो ।
त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले प्रदेश नं. ४ लाई कृषिमा आत्मनिर्भर बनाउँदै आगामी पाँच वर्षमा निर्यात गर्न सक्ने बनाउने गरी आफू लागिरहेको बताउनुभयो । प्रदेश नं. ४ मा भूमि व्यवस्थापन, कृषि तथा सहकारी क्षेत्रको विकासका लागि आफ्नो ध्यान केन्द्रित रहेको भन्दै मन्त्री थापामगरले सबै समुदायको सहयोग जरुरी रहेको आवश्यकता औंल्याउनुभयो ।
नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष हर्कबहादुर पुनमगरले समाजको स्थापनाको पृष्ठभूमिबारे प्रकाश पार्दै सम्पूर्ण मगरहरूबीच एकताको आवश्यकतासहित आफूहरूले समाजको स्थापना गरेको बताउनुभयो । मगर जातिबीच भाषिक तथा सांस्कृतिक विविधता रहेपनि सबै मगरहरू एउटै भएको बताउँदै अध्यक्ष पुनमगरले आफ्नो पहिचान र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा समाजका केन्द्रीय महासचिव खेम पुनमगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Advertisment