जनशक्ति अभावमा काम गर्न गाह्रो ः प्रदेश प्रहरी प्रमुख बोहरा

रूद्र श्रीसमगर
पोखरा, १३ जेठ
हालै मात्र सरुवा भइ आएका चार नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले प्रहरी जनशक्ति अभावमा काम गर्न गाह्रो भएको बताउनुभएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायब महानिरीक्षक बोहराले दरबन्दी अभाव र भएको दरबन्दीमा पनि आवश्यक जनशक्ति नहुँदा भनेजस्तो गर्न नसकिएको गुनासो गर्नुभयो । ‘ठूला कुरा गरेर मात्रै भएन, काम गरेर देखाउने कुरा हो’, पत्रकारहरूसँग बोहराले भन्नुभयो, ‘भएका स्रोत साधन र जनशक्तिबाट जति गर्न सकिन्छ, त्यति नै गर्ने हो ।’
संघीय प्रहरी ऐन आएपछि मात्र नयाँ भर्ना आÞवान हुने भन्दै विद्यमान जनशक्ति प्रदेश नम्बर चारका लागि अपुग रहेको बताउनुभयो । प्रदेश नम्बर चारमा हाल ६ हजार २ सय ९५ प्रहरीको दरबन्दी रहेका छन्, जसमा ५ हजार २ सय ६५ जना मात्रै कार्यरत छन् ।
प्रदेश ट्राफिक निर्देशनालयको स्थापना र त्यसको दरबन्दी माग भएको जानकारी गराउँदै प्रदेश प्रहरी प्रमुख बोहराले प्रदेश नम्बर चारमा प्रहरी तालिम केन्द्रको समेत अभाव भएको बताउनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक गर्नुभएको कार्ययोजना पूरा गर्नका लागि आफू दृढतापूर्वक लाग्ने बताउँदै बोहराले अपराध नियन्त्रण आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

Advertisment