स्वास्थ्यप्रति सबै सचेत हुन आवश्यक छ ः उपसभामुख शर्मा

रूद्र श्रीसमगर
पोखरा, १२ जेठ
कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१४ मा सञ्चालित साप्ताहिक स्वास्थ्य सचेतना कार्यक्रमको शनिबार समापन गरिएको छ ।
सहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समिति, पोखरा लेखनाथ–१४ को आयोजनामा जेठ ५ गते शनिबारदेखि सुरु भएको कार्यक्रमको शनिबार प्रदेश नं. ४ की उपसभामुख सिर्जना शर्माले समापन गर्नुभएको हो । सो अवसरमा बोल्दै उपसभामुख शर्माले स्वास्थ्यप्रति सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्यप्रति सबै नागरिकलाई सचेत गराउन यो कार्यक्रम सफल भएकोमा बधाई दिँदै उपसभामुख शर्माले स्वास्थ्य, शिक्षा र रोजगार नागरिकका आधारभूत आवश्यकता भएको बताउनुभयो । ‘स्वास्थ्य, शिक्षा र रोजगार नागरिकका अनिवार्य आवश्यकता हुन्’, उहाँले भन्नुभयो, ‘महिलाहरूको प्रजनन स्वास्थ्यबारे अझ बढी सचेत हुन आवश्यक छ ।’
महिलाहरूले अझै पनि आफ्ना स्वास्थ्य समस्याबारे खुलेर बोल्न डर अनि लाज मान्ने गरेको प्रसंग कोट्याउँदै शर्माले आफ्नो स्वास्थ्यप्रति सधैं सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले महिलाहरूका लागि समेत बजेटमा विशेष व्यवस्था गर्न लागेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रका लागि राज्यले विशेष लगानी गरेको उल्लेख गर्नुभयो ।
एक अर्को प्रसंगमा उहाँले महिलाहरू नेतृत्व विकास गरेर अघि बढेका थुप्रै उदाहरण भएको भन्दै महिलाहरूलाई कुनै पनि हिसाबले कमजोर ठान्न नहुने बताउनुभयो । ‘महिलाहरू अब धेरै सक्षम भइसके, पुरुषसरह काम गर्न तयार छन्’, उपसभामुख शर्माले भन्नुभयो, ‘अब महिलाहरू घरमा पीडा र शोषण सहेर बस्न आवश्यक छैन ।’
कार्यक्रममा पोखरा लेखनाथ महानगर कार्यपालिका सदस्य यशोदा भट्टराई, पोखरा लेखनाथ महानगरपालिकाकी नर्सिङ अधिकृत कविता पौडेल, नेपाल रेडक्रस सोसाइटी, पोखरा लेखनाथ–१४ उपशाखाका सभापति मथुराप्रसाद पौडेल, कदममार्ग आमा समूहकी संस्थापक अध्यक्ष सुशीला आचार्य, नेपाली कांग्रेस, पोखरा लेखनाथ–१४ का सभापति बोधराज बराललगायतले बोल्नुभएको थियो ।
पोखरा लेखनाथ–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तारामाया थापामगर र समितिका उपाध्यक्ष बोधराज कार्कीले स्वागत गर्नुभएको थियो ।
साप्ताहिक स्वास्थ्य सचेतना कार्यक्रमको प्रदेश नं. ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले गत शनिबार ५ गते उद्घाटन गर्नुभएको थियो । दोस्रो दिन आइतबार सगरमाथा टोलमा प्रजनन स्वास्थ्य शिक्षा, सोमबार बलभद्र माविमा विद्यालय स्वास्थ्य शिक्षा, मंगलबार गैह्री पाउँमा ल्याण्डफिल्ड प्रभावित स्वास्थ्य शिक्षा, बुधबार सैनीटारमा परिवार नियोजनसम्बन्धी स्वास्थ्य शिक्षा, बिहीबार रामेश्वरी माविमा विद्यालय स्वास्थ्य शिक्षा सम्पन्न गरिएको कार्यक्रम संयोजक तारामाया थापामगरले जानकारी दिनुभयो ।

Advertisment