गुण्डागर्दी र लागू औषध कारोबार अन्त्य गरेरै छाड्छु ः एसपी राना

पोखरा, ५ जेठ
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले कास्की जिल्लालाई गुण्डागर्दी र लागू औषध मुक्त जिल्ला बनाउने उद्घोष गर्नुभएको छ ।
नेपाल मगर संघ कास्कीले शनिबार बिहान आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक रानाले शान्ति, सुरक्षा र अमन चयनका लागि कुनै किसिमको सम्झौता नगर्ने दाबी गर्नुभयो । ‘गुण्डागर्दी र लागू औषध कारोबारलाई निमिट्यान्न पार्ने मेरो अठोट छ’, उहाँले भन्नुभयो, ‘कास्कीलाई सुरक्षित र शान्त जिल्लाका रुपमा स्थापित गर्न मेरो नेतृत्वदायी भूमिका हुनेछ ।’
अपराधीलाई कानूनी दायरामा ल्याउन सहयोग गर्न आग्रह गर्दै प्रहरी उपरीक्षक रानाले अपराधमुक्त समाज निर्माणका लागि मगर समुदायको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । ‘विभिन्न क्षेत्रका दलाल र तस्करहरूलाई हामी अब कुनै पनि किसिमको छुट दिँदैनौं’, रानाले भन्नुभयो, ‘मलाई आशा छ, मेरो कार्यकाल सफल बनाउन, मेरो मिसनलाई पूरा गर्न तपाई मगर दाजुभाइ दिदीबहिनीहरूको पूर्ण सहयोग रहनेछ ।’
लागू औषधले युवाहरूको भविष्य अन्धकार पारेको भन्दै प्रहरी उपरीक्षक रानाले अभिभावक सचेत भए मात्र युवाहरूलाई गलत बाटोमा जानबाट रोक्न सकिने बताउनुभयो । अपराध न्यूनिकरणमा नागरिकसँग हातेमालो गरेर अघि बढ्न आफू तयार रहेको भन्दै उहाँले प्रहरी र नागरिकबीचको सम्बन्ध असल हुनुपर्नेमा जोड दिनुभयो ।
प्रहरी उपरीक्षक रानालाई स्वागत एवं सम्मान गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानाले निर्दोष व्यक्ति अन्यायमा पर्न नहुने भन्दै सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष मे. प्रेमबहादुर थापाले प्रहरी उपरीक्षक रानाको कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिँदै कास्कीका जनतालाई शान्ति, सुरक्षाको प्रत्याभूति गर्ने गरी काम गर्न सुझाव दिनुभयो । सो अवसरमा सचिव यामबहादुर थापाले पनि बोल्नुभएको थियो ।
प्रहरी उपरीक्षक रानालाई नेपाल मगर संघ कास्कीसहित नेपाल मगर महिला संघ कास्की, नेपाल मगर युवा संघ कास्की र नेपाल मगर विद्यार्थी संघ कास्कीले स्वागत एवं सम्मान गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ को प्रथम ऐतिहासिक अधिवेशनबाट सचिव पदमा निर्विरोध निर्वाचित भएको भन्दै पत्रकार रूद्रबहादुर श्रीसलाई समेत सम्मान गरिएको थियो ।
Advertisment