उपराष्ट्रपति पासाङले मोदीसँग उठाए सीमाका कुरा

काठमाडौं, २९ वैशाख
दुई दिने औचापरिक भ्रमण सकाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार अपरान्ह स्वदेश फर्किएका छन् । नेपाल भ्रमण रहँदा मोदीको आलोचना त भइरÞयो नै उनीसँग नाकाबन्दी, सीमा समस्या लगायतका विषयमा धारणा नराखेको भन्दै नेपाली नेताहरूको पनि आलोचना भएको छ ।
सार्वजनिक कार्यक्रम तथा दुई पक्षीय भेटहरूमा अन्य नेताहरूले नाकाबन्दी र सिमा समस्याका बारेमा प्रष्ट धारणा नराखे पनि उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले स्पष्ट धारणा राख्नुभएको छ । नाकाबन्दीको क्रममा आपूर्तिमा भएको अवरोध स्मरण गराउँदै उहाँहरूले सीमा समस्या गम्भीर रुपमा उठाउनुभएको छ ।
सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अर्नर लिएर उपराष्ट्रपति पासाङलाई भेट्न बहादुर भवन पुगेका मोदीलाई उपराष्ट्रपति पासाङले सबै भन्दा पहिले स्वागत गरे, मोदीको भ्रमणले नेपाल र नेपाली जनता अत्यन्त खुशी भएको बताउनुभयो । अन्य विषयहरुको चर्चा गर्दै उपराष्ट्रतिले मोदीलाई स्पष्ट भाषामा भन्नुभयो, ‘खुला सीमाना भएका दुई छिमेकी राष्ट्रबीच केही सीमा सम्बन्धी समस्या हुनु स्वभाविकै हो । यो समस्या समाधानका लागि सीमा स्तम्भ निर्माण गर्ने लगायतका विषयहरु अगाडी बढेकोमा खुशी लागेको छ । यो छिट्टै भरपर्दो र विश्वसनीय ढंगले सम्पन्न हुने अपेक्षा लिएका छौं ।’
उपराष्ट्रपति पासाङले नेपालले भारतबाट ठूलो व्यापार घाटा व्यहोरिरहेको उल्लेख गरेपछि भारत भौगोलिक रुपमा विशाल भएको, उर्वर भूमी धेरै भएको तर नेपालमा उर्वर भूमी कम भएको, त्यसमा पनि बसाईं सराई, बाढी, पहिरो, डुबानका समस्या भोगिरहेको भन्दै एक इन्च नेपाली भूमि मिच्न नदिने संकेत गर्नुभयो ।
उपराष्ट्रपतिले मोदीसँगको भेटमा दुई पटक दोहो¥याएर भन्नुभयो, ‘नेपालले भारतसँग सुदृढ्, परिस्कृत, पारस्परिक, सौहार्द र समान राजनीतिक सम्बन्ध चाहन्छ ।’ त्यसै क्रममा उहाँले वस्तु निर्यातमा सहज पहुँच र व्यापार सन्तुलनको प्रसँग उठाउनुभयो । उहाँले नाकाबन्दीतर्फ संकेत गर्दै मोदीलाई भन्नुभयो, ‘पारवाहन तथा आपूर्तिमा पटक पटक देखा पर्ने समस्या सधैको लागि समाधान चाहन्छ ।’
कुराकानीको अन्त्यमा उपराष्ट्रपति पासाङले मुक्तिनाथ र पशुपतिनाथले भारतीय प्रधानमन्त्री मोदी र उनका भ्रमण दललाई आशीर्वाद दिऊन् भन्ने कामना पनि गर्नुभयो ।
उपराष्ट्रपतिको कुरा सुनेका भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रशंसा गर्दै कुरा सुरु गरे । उनले त्यसपछि उपराष्ट्रपतिले राखेका धारणामाथि आफ्ना धारणा राखे । उनले विगतको बारेमा धेरै कुरा गर्न चाहेनन् । नेपालको समृद्धिका लागि भारत सधै साथ दिन तयार रहेको उल्लेख गरे ।
उनले पटक पटक नेपाल र भारत मिल्नुपर्ने बताए । ‘भारत र नेपाल मिल्नु पर्छ, हामी जस्तो सुकै काम पनि गर्न सक्छौं ।’ उनले सिमा समस्या, आपूर्तिमा विगतमा देखा परेका समस्या लगायतका विषय सधैका लागि समाधा गर्न भारत तयार रहेको समेत उल्लेख गरेको भेटघाटमा उपस्थित नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले जानकारी दिए ।

Advertisment