मादी गाउँपालिका–७ मा एक हप्ते हाउस वायरिङ तालिम सम्पन्न

पानीघाट, २७ वैशाख
कास्कीको मादी गाउँपालिका वडा नं. ७ मा सञ्चालित एक हप्ते हाउस वायरिङ तालिमको बिहीबार समापन गरिएको छ ।
मादी गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट विनियोजित युवा लक्षित स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालित तालिममा ३० जना युवाको सहभागिता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थी युवाहरूले तालिमबाट आफूहरूले उपयोगी सीप सिकेको बताउँदै स्वरोजगार बन्न तालिमले सहज बनाएको उल्लेख गरेका छन् ।
तालिमको समापन गर्दै वडाध्यक्ष लालबहादुर गुरुङले सीपमूलक तालिमले युवाहरूलाई स्वरोजगार बन्न सघाउने बताउनुभयो । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष २० जना युवालाई तालिममार्फत् स्वरोजगार बनाउँदै पाँच वर्षभित्रमा सय जना युवालाई स्वरोजगार बनाउने योजना अनुसार अघि बढेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा वडा सदस्यहरू वीरबहादुर परियार, बेलसुबा विक, वडा महिला समन्वय समिति संयोजक उषा थापामगर, टोल विकास संस्थाहरूको तर्फबाट निशान गुरुङले बोल्नुभएको थियो । वडा सचिव रामकृष्ण बाँस्तोलाले सञ्चालन गर्नुभएको कार्यक्रममा नारायण सापकोटाले स्वागत गर्नुभएको थियो ।

 

Advertisment