एक दिने महापरित्राण पाठको तयारी पूरा

रूद्र श्रीसमगर
पोखरा, २८ वैशाख
अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहार, पोखरा शाखा, नागढुड्डाको आयोजनामा शनिबार हुने एक दिवसीय महापरित्राण पाठको तयारी पूरा भएको छ ।
आयोजक उदय विहारले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महापरित्राण पाठको तयारीबारे जानकारी दिएको हो । महापरित्राण पाठमा ६ जना पुरुष र १० जना महिला गरी १६ जना ७५ वर्षमाथिका ज्येष्ठ नागरिक उपासक र उपासिकाका रुपमा सहभागी हुने विहारका अध्यक्ष टीबी पुन ‘रोशन’ले जानकारी दिनुभयो ।
अध्यक्ष पुनका अनुसार सहभागी हुने उपासकहरूमा ८३ वर्षीय चन्द्रबहादुर गुरुङ (सीबी घोताने), ८३ वर्षीय छानबहादुर गुरुङ, ८६ वर्षीय बिलबहादुर गुरुङ, ८६ वर्षीय लालसिंह गुरुङ, ७८ वर्षीय केशबहादुर गुरुङ, ८३ वर्षीय धनबहादुर श्रीस, उपासिकाहरूमा ७७ वर्षीया गंगादेवी गुरुङ, ८३ वर्षीया विष्णुकुमारी गुरुङ, ७५ वर्षीया लक्ष्मी गुरुङ, ७९ वर्षीया मीनाकुमारी गुरुङ, ८८ वर्षीया हरसुबा गुरुङ, ७५ वर्षीया हिन्दुमाया गुरुङ, ८० वर्षीया पम्फा पुन, ८१ वर्षीया चिजकुमारी गुरुङ, ७५ वर्षीया कलावती गुरुङ र ७९ वर्षीया ७९ वर्षीया नरमाया श्रीस रहनुभएको छ ।
ज्येष्ठ उपासक, उपासिकाहरूको दीर्घायू र आरोग्यताको कामना गर्दै आयोजित महापरित्राण पाठ विहारले तेस्रो पटक आयोजना गर्न लागेको अध्यक्ष पुनले जानकारी दिनुभयो । पुनका अनुसार यसअघि, अनागरिका धर्मशीला गुरुमाको अग्रसरतामा २०२९ सालमा पहिलोपटक सामूहिक रुपमा महापरित्राण पाठ सम्पन्न भएको र दोस्रो पटक अनागरिका धर्मशीला गुरुमाको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर २०४४ सालमा आयोजना गरिएको हो । ३१ वर्षपछि अहिले तेस्रो पटक महापरित्राण पाठको आयोजना गरिएको पुनको भनाइ छ ।
महापरित्राण पाठका लागि अखिल नेपाल भिक्षु महासंघका करिब ३५ जना भिक्षु, भन्ते गुरुहरूले पाठ गर्नेछन् । सो अवसरमा विहारका सचिव बमबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो भने भिक्षु मीन गुरुले बौद्ध धर्म र संघलाई वन्दना प्रस्तुत गर्नुभएको थियो ।

Advertisment