‘रिंजे नाँसा’ बैशाख २९ गते प्रदर्शन हुने

पोखरा, २३ बैशाख । खेती किसानी छाडेर विदेशीनेको लर्को लागेपछि गाउँ रित्तिदै गयो, शहर भरिदै गयो । सुनसान भएपछि गाउँ गाउँजस्तो रहेन, खेती किसानी नभएपछि जमिन बाँझा भयो, उत्पादन घट्ने नै भयो । अहिलेको गाउँको वास्तविकता यहि हो । हो यहि कथाबस्तुलाई लिएर युवा ब्यबसायी शम्सेरबहादुर गुरुङले गुरुङ चलचित्र ‘रिंजे नाँसा’ निर्माण गरेका छन् । विदेशिने र सहर झर्ने युवाहरुलाई गाउँमै ब्यबसायीक खेती गरेर स्वरोजगार बन्न सकिने सन्देश दिने उद्धेश्यले निर्माण गरिएको चलचित्र ‘रिंजे नाँसा’ यहि बैशाख २९ गते शनिबार पोखराको कल्पना हलमा प्रदर्शन गरिने भएको छ । कल्पना सिनेमा हलमा शनिबार विहान ८ बजे, मध्याह्न १२ बजे र अपराह्न ३ बजे गरी ३ शो प्रदर्शन हुने चलचित्रका निर्माता शम्सेरबहादुर गुरुङले जानकारी दिए ।

चलचित्र ‘रिंजे नाँसा’ सबैभन्दा बढी गुरुङ भाषा प्रयोग गरेर बनाइएको चलचित्र भएको निर्माण पक्षको दाबी छ । ९८ प्रतिशत गुरुङ भाषा प्रयोग गरेर बनाइएको निर्माता गुरुङले बताए । गुरुङ भाषामा रिंजेको अर्थ रञ्जित र नाँसाको अर्थ गाउँ भन्ने लाग्छ । यो चलचित्र पोखराको सिरान मानिने साविक अर्मला गाविस र हाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ मा पर्ने रिंजे नाँसा (रञ्जित गाउँ)को नामबाट बनेको हो । गाउँको विकासका लागि युवालाई आकर्षित गर्ने, गाउँको महत्व दर्शाउने, विकास र समृद्धिका लागि स्थानियलाई जागरुक बनाउने, गाउँलेलाई स्वरोजगारतर्फ आकर्षित गर्ने, दलालको फन्दामा परी चेली बिदेशमा बेचिनसक्ने भएकाले त्यसतर्फ सचेत बनाउने उद्धेश्यले आफूले चलचत्रि निर्माण गरेको निर्माता शम्सेरबहादुर गुरुङले जानकारी दिए ।

प्रितम गुरुङको निर्देशनमा बनेको चलचित्रमा राजु गुरुङ, बलबहादुर गुरुङ, शम्सेरबहादुर गुरुङ, सिता गुरुङ, सरस्वती गुरुङ, एलिना गुरुङलगायतको अभिनय रहेको छ । रञ्जित गाउँको नौंधारे सिद्ध वराह युवा क्लवको आयोजनामा गुरुङ भाषाका गीत मात्र गाउन पाउने गुरुङ आईडल गर्ने तयारी भईरहेको निर्माता शम्सेरबहादुरले जानकारी दिए ।

Advertisment